उत्सव चौलागाई

आधा सपनाहरू पनि
प्रिय हुँदा रहेछन्
सुन्दर हुँदा रहेछन्
जस्तो कि,
पहिलोपटक तिम्रो ओठबाट
खसेको प्रेमिल आधा मुस्कान
जीवनको किनारा हुँदै बिलिन भएको
हाम्रो आधा प्रेम सम्बन्ध ।

आधा मुस्कुराइरहेको जून
घामपानीमा मिसिएको
आधा घाम र आधा पानी
सप्तरङ्गी इन्द्रेणीको आधा रङ
अनि आधा अनुहार देखाएर
मुसुक्क हाँसेको अर्धकदको हिमाल ।

तिमीसँगै हिँडेको आधा बाटो
मजदुरको हातले समाएको आधा टुक्रो रोटी
तिम्रो हात र मेरो हातले
आधाआधा बनाएको मुटु ।

मलाई यहि आधा प्रिय लागिरहेछ ।

आधा हुनुको सुन्दरता
आधा घुम्टो उघारेर
आफ्नो मान्छेलाई लजाउँदै
आधा हेर्नु पनि त हो ।

कुनै यात्रामा भेटिएको
सुन्दर मानिसको आधा स्मृति
सयौँ पटक सुनिरहे पनि
मस्तिष्कभरि गुञ्जिरहने आधा सङ्गीत ।

केटाकेटीले लेख्दै गरेको आधा अक्षर ।

मलाई अत्यधिक प्रिय लागिरहेछ
यहि आधाहरू
त्यसमाथि तिमी पनि मेरो आधा छौ ।

मलाई तिमीबिना सिङ्गो बन्नु छैन अर्थहीन ।

प्रिय !
तिमी कतिञ्जेल सिङ्गो बाँचेको भ्रम पाल्छौ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here