हेटौंडा–प्रत्येक प्रदेशमा प्रहरी संगठन हुने संवैधानिक व्यवस्था कार्यान्वयनमा आइसकेको छैन । २०७७ साल भदौ १५ गते नेपाल राजपत्रमा प्रदेश प्रहरी ऐन २०७७ प्रकाशित भए पनि संघीय सरकारले चासो नदिँदा प्रदेशमा प्रहरी समायोजन हुन सकेको छैन । तर, बागमती प्रदेश सरकारले भने संघीय मातहतमा रहेको प्रहरी संगठनको भवन निर्माण र मर्मतमा करोडौं रुपैयाँ रकम खर्च गरिरहेको छ । 

शान्ति सुरक्षा र कानुनसम्बन्धी जिम्मेवारीसहित स्थापित प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थापना यता पहिलो चरणमा एक अर्व १० करोड ९९ लाख १२ हजार रुपैयाँ प्रहरी भवन निर्माणमा खर्च गरेको छ भने दोस्रो चरणमा करिब ७३ करोड ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो चरणमा प्रहरीको ४९ वटा प्रहरी भवन निर्माण भइसकेको छ भने १८ वटा भवन निर्माणाधीन अवस्थामा रहेको छ । बगमती प्रदेशभित्र रहेका विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । प्रदेश सरकारले हालसम्म मकवानपुरमा ८, चितवनमा ५, सिन्धुलीमा ७, रामेछापमा ४, दोलखामा ४, नुवाकोटमा ३, काभ्रेमा ८, धादिङमा ३, रसुवामा ४, सिन्धुपाल्चोकमा ३ प्रहरी भवन निर्माण सम्पन्न गरिसकेको मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, ईलाका प्रहरी कार्यालय ठिंगन, प्रहरी चौकी डाँडाखर्क, प्रहरी चौकी हात्तिसुडे, प्रहरी चौकी ठुलोदमार निर्माण सम्पन्न भईसकेको छ भने चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सितारामचोक, प्रहरी चौकी सुमेश्ररमाडी, प्रहरीचौकी कल्याणपुर माडी र प्रहरी चौकी पन्चकन्याको भवन निर्माण गरिएको छ । त्यस्तै सिन्धुलीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रत्नावती, ईलाका प्रहरी कार्यालय बस्तीपुर, प्रहरीचौकी हरिहरपुरगढी, प्रहरी चौकी महेन्द्रझाडी, प्रहरी चौकी हतपते, प्रहरी चौकी गढी निर्माण सम्पन्न भएको छ भने रामेछापमा ईलाका प्रहरी कार्यालय टोकपुर, ईलाका प्रहरी कार्यालय प्रिती, प्रहरी चौकी दोरम्बा र प्रहरी चौकी बास्तीको भवन निर्माण सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै दोलखामा प्रहरी चौकी छौडे, प्रहरी चौकी भैंसे, प्रहरी चौकी विगु, प्रहरी चौकी किरातीछाप, नुवाकोटमा जिल्ला प्रहरी कार्यालय ब्यारेक, प्रहरी चौकी झिल्टुङ र प्रहरी चौकी किम्ताङको भवन बनेको हो ।त्यस्तै काभ्रेमा ईलाका प्रहरी कार्यालय गोकुले, प्रहरी चौकी फलाँटे, प्रहरीचौकी तिमालेबेशी, प्रहरीचौकी फलामेटार, प्रहरीचौकी तालढुंगा, प्रहरीचौकी फोक्सिङटार, ईलाका प्रहरी कार्यालय बनेपा, ईलाका प्रहरी कार्यालय बंखुचौर र धादिङमा प्रहरी चौकी बुढाथुम, प्रहरी चौकी ताल्ती, प्रहरी चौकी टोडकेको प्रहरी भवन निर्माण सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै रसुवामा प्रहरी चौकी लाङटाङ, प्रहरी चौकी थुमन, प्रहरी चौकी पारच्याङ्ग्रा, प्रहरी चौकी हाकु र सिन्धुपाल्चोकमा ईलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी मानेखर्क, सिन्धुली प्रहरी चौकी कोदारीको प्रहरी भवन निर्माण गरिएको तथ्याङ्क छ ।

प्रदेश सरकारबाट बितेको आर्थिक वर्ष २०७९–८० मा १९ वटा प्रहरी इकाइ भवन मर्मतका लागि एककरोड ७० लाख ४० हजार रुपियाँसमेत खर्च भएको छ । मकवानपुरमा ६, सिन्धुली र काभ्रेमा तीन/तीन, धादिङममा दुई र चितवन, दोलखा, सिन्धुपाल्चोक र रसुवामा एक÷एक प्रहरी इकाइ भवन मर्मत गर्न सो खर्च लागेको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताए । मन्त्रालयले चालु आवमा चार जिल्लाको ५ स्थानमा ६ करोड ४४ लाख ६५ हजार लागतमा ५ प्रहरी भवन निर्माण गर्ने योजना बनाएको छ । मकवानपुर, चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रहरी भवन निर्माण हुनेछ । २०७६ साल माघ २८ गते राजपत्रमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन सुपरिवेक्षण र समन्वय) ऐन २०७६ प्रकाशित भएता पनि प्रदेश सरकार मातहत प्रहरी संरचना बनिसकेको छैन । संविधानको धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन हुनेछ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुनेछ भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here