हेटौंडा – हेटौंडामा चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’को कन्सर्ट हुने भएको छ । भदौ ३० गते शनिबार हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुन लागेको मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिका प्रमुख सागर गजुरेलले जानकारी दिए ।
दि एक्सले पहिलो पटक हेटौंडामा सांगीतिक प्रस्तुती दिन लागेको गजुरेलले बताए । उनले कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट जम्मा भएको पैसाले खर्च कटाएर बचत भएको रकम आर्थिक अवस्था कमजोर भएर पढ्न समस्या भएका विद्यार्थीहरुलाई सहयोग गरिने बताए ।
कन्सर्ट प्रवेश शुल्क टिकटदर एक हजार रुपैयाँ राखिएको डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाले बताए । टिकटमा मद्यपान गर्नेलाई एक क्यान वियर र नगर्नेलाई जुस निःशुल्क उपलब्ध गराइने उनले बताए ।
त्यसैगरी डाइरिजका सलाल्हकार विकेशलाल श्रेष्ठले हेटौंडामा दि एक्सको पहिलो सागिंतिक कार्यक्रम हुन लागेको र यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार कार्यक्रम अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म जारी रहने छ । कार्यक्रममा एक हजार भन्दा बढी सहभागिता हुने आयोजकको अनुमान रहेको छ ।