हेटाैंडा- गजल मञ्च मकवानपुरले १५८ ओैं माेती जयन्ती विशेष कार्यक्रमका साथ मनाएकाे छ । नेपाली गजल तथा समग्र साहित्य विधामा महत्वपूर्ण याेगदान पुर्याएका बहुआयामिक व्यक्ति माेतिराम भट्टकाे जन्मजयन्ती तथा स्मृति दिवसमा बिहीबार गजल साँझकाे आयाेजना गरिएकाे हाे ।
कार्यक्रमकाबीच माेतिराम भट्टकाे व्यक्तित्व र कृतित्वकाे परिचर्चा गर्दै उनका गजलहरुसमेत गायन गरिएकाे थियाे । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गाैतमले भट्टकाे व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए । पुरुषाेत्तम आचार्य र हरिप्रसाद पाैड्यालले भट्टकाे गजल गायन गरेका थिए ।
कार्यक्रममा गजलकारहरु सानू खनाल, देवराज तिवारी, सुनिल गाैतम, पुरुषाेत्तम आचार्य, सुवास सजल, हरिप्रसाद पाैड्याल, रजनी पाैडेल, भवानी तिमल्सिनालगायतले गजल वाचन गरेका थिए । सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिलले विशिष्ट अतिथिकाे रुपमा माेतिरामकाे साहित्यिक याेगदानबारे चर्चा गरेका थिए ।
मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए ।
मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेका थिए । भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए । कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ ।