हेटौंडा–अनलाइनमा समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार बलराम पुडासैनीमाथि गालीगलौच गरी ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले मकवानपुरगढी गाउँपालिका–३ का रामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

सार्वजनिक गाली गलौचको कसुरमा घिमिरेलाई सजाय माग गर्दै पुडासैनीले दिएको उजुरीको आधारमा घिमिरेलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमार्फत १० दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले १० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेपछि स्ल्याब ढलान उपभोक्ता समितिका अध्यक्षसमेत रहेका घिमिरेले पत्रकार पुडासैनीलाई गाली गलौच गरी गोली हान्नेसमेतको चेतावनी दिएका थिए ।

पत्रकार पुडासैनीले तुखबर डटकममा गढी–३ स्थित भानु माविदेखि फुटसल मैदानसम्म भएको एक सय १० मिटर स्ल्याब ढलान एक महिना नबित्दै भत्किएको समाचार फोटोसहित प्रकाशन गरेका थिए । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुखसमेत रहेका पुडासैनीमाथि ज्यान मार्ने धम्की आएपछि घिमिरेमाथि कारबाहीको माग गर्दै पत्रकार महासंघलगायत संघ संगठनले दबाब दिएका थिए । पुडासैनीलाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको थियो ।

महासंघका अध्यक्ष हरि हुमागाईं र सचिव गणेश अधिकारीद्धारा जारी विज्ञप्तिमा समाचारको बिषयमा चित्त नबुझेमा खण्डन गर्न सकिने तथा कानुनी बाटो हुँदाहुँदै समाचारकै बिषयलाई लिएर गोली हान्छु भन्नेसम्मको धम्की दिनु निन्दनीय रहेको उल्लेख गरिएको छ ।

त्यस्तै घटनाप्रति नेपाल प्रेस युनियन मकवानपुरले पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजमा भएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार लेखेकै आधारमा ज्यान मार्नेसम्मको धम्की दिइनु निन्दनीय भएको युनियनका सचिव केशव समर्पणद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here