श्रीजना नेपाल

हेटौंडा–भारतबाट विषादी प्रयोग गरिएको तरकारी बिना परीक्षण नेपालमा भिœयाइएको भन्दै आलोचना भइरहेका बेला हेटौंडामा दैनिक ६ मेट्रिक टनभन्दा बढी तरकारी भित्रिरहेको पाइएको छ । भारतको रक्सौल र सुनौली नाका हुँदै ठूलो परिमाणमा भारतीय तरकारी हेटौंडा आउने गरेको व्यवसायीहरुको भनाइ छ । स्थानीय उत्पादनले बजार धान्न नसकेपछि सिजनको बेलामा पनि हेटौंडामा ठूलो परिमाणको भारतीय तरकारी भित्रिरहेको तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए ।

भारतबाट अहिले दिनहुँ पर्बल, बोडी, गोलभेडा, आलु र प्याजजस्ता तरकारी आउने गरेको छ । ‘अहिले तरकारीको सिजन हो, मकवानपुरकै धेरै ठाउँबाट तरकारी आउँछ तै पनि त्यसले नपुगेर दैनिक ६ टनभन्दा बढी तरकारी भारतबाट ल्याइन्छ ।’ अध्यक्ष मोक्तानले भने–‘अफ सिजनको बेलामा अहिलेको भन्दा दोब्बर बढी तरकारी भारतबाटै आउने हो ।’

भारतबाट बाहेक मकवानपुरका विभिन्न क्षेत्रबाट पनि तरकारी आउने गरेका छन् । सिजनको बेला भएकोले मकवानपुरको दामन, पालुङ, नामटार, सिस्नेरी, मनहरी लगायतका क्षेत्रबाट तरकारी आउने गरेका छन् । तरकारी व्यवसायी संघकाअनुसार अहिले गोलभेडा, मूला, गाँजर, काउली तथा आलु लगायतको तरकारी स्थानीय स्तरमा उत्पादन भइरहेको छ । भारतमा उत्पादित तरकारीमा धेरै मात्रामा विषादी प्रयोग हुने गरिएको तरकारी व्यवसायी संघका अध्यक्ष मोक्तानको दावी छ ।

‘हाम्रोतिर तरकारी फलाउँदा मात्र विषादी हाल्ने हो तर भारतबाट आउने तरकारीमा त हरियो देखाउन, नकुहियोस् भन्नकै लागि पनि रङ, सुई हाल्ने गरिन्छ ।’ मोक्तानले भने– ‘भेन्टा, बोडी, पर्वलहरु रङ नै हालेर ल्याएका हुन्छन्, लौका, मूला, काँक्रो जस्ता तरकारीमा सुई लगाएर ठूलो बनाइन्छ ।’ उपभोक्ताको स्वास्थ्यमा असर पर्ने विषादीयुक्त तरकारी जानीजानी बिक्री गर्नु परिरहेको उनले बताए ।


आँप को स्थानीय उत्पादन शून्य
अघिल्ला वर्षहरुमा मकवानपुरका विभिन्न स्थानबाट केही आँपहरु बजारमा बिक्रीका लागि आउने गरिए पनि यसपटक भने मकवानपुरमा आँप बजारसम्म आएनन् । आँपको उत्पादन नै कम भएका कारण बाहिरी जिल्ला तथा भारतबाट आएको आँपमा निर्भर रहनु परेको बताइएको छ ।
हाल हेटौंडामा आँपको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष मोक्तानले बताए । हेटौंडामा हाल दैनिक रुपमा दश मेट्रिकटन आँप खपत भइरहेको छ । स्थानीय स्तरमा यो वर्ष आँप उत्पादन हुन नसक्दा लहान, लालबन्दी, धरान तथा भारतजस्ता स्थानहरुबाट आँप भित्रिरहेका छन् । तर पनि मागअनुसारको आँपको परिपूर्ति हुन नसकेको मोक्तानले बताए ।
उनले गतवर्ष असारको मसान्तसम्म स्थानीय स्तरमा उत्पादन भएका आँप दैनिक पाँच टनसम्म आउने गरेकोमा यो वर्ष आउँदै नआएको बताए । उनले भने–‘यताको आँप एक वर्ष फल्ने, एक वर्ष नफल्ने गर्छ । गत वर्ष फलेको भएर यस वर्ष नफलेको हुनपर्छ ।’ यस वर्ष लामो समय खडेरी पनि परेको कारण आँप उत्पादन हुन नसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here