गाउँपालिका परिसरमा निर्माण गरिएको करेसाबारीमा फलेको तरकारी देखाउँदै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय कापरी र राक्सिराङ स्वास्थ्य चौकी प्रमुख यामप्रसाद गौतम

हेटौंडा– मकवानपुरका विकट गाउँपालिकामा बसोबास गर्ने स्थानीयलाई तरकारी उत्पादनमा प्रेरित गर्ने उद्देश्यका साथ राक्सिराङ गाउँपालिकामा रहेको एक स्वास्थ्यचौकीले करेसाबारीमा
तरकारी खेती गरी सेवाग्राहीलाई तरकारी उपहार दिने गरेको छ । चैनपुरमा रहेको राक्सिराङ स्वास्थ्यचौकीले आफ्नो क्षेत्रमा रहेको खाली जग्गाको सदुपयोग गरी तरकारी उत्पादन मात्रै गरेको छैन, स्वास्थ्य सेवा लिन आउनेलाई ताजा तरकारी पनि उपलब्ध गराइरहेको छ ।

चेपाङ र तामाङ समुदायका गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई लक्षित गरी राक्सिराङ स्वास्थ्य चौकीले करेसाबारीमा केही महिनाअघिदेखि तरकारी उत्पादन थालेको हो । करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएको हो । करेसाबारीमा फलेको तरकारी स्वास्थ्यचौकीमा सेवा लिन आउने गर्भवती, सुत्केरी तथा गाउँपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क रुपमा उपलब्ध गराई आफ्नो घर वरपर पनि तरकारी खेती गर्न प्ररेणा दिने गरिएको स्वास्थ्य चौकी प्रमुख यामप्रसाद गौतमले जानकारी दिए । स्वास्थ्य चौकीले दुई स्थानमा करेसाबारी निर्माण गरी अहिले लौका, फर्सी, करेला, भिन्डीलगायत मौसमी तरकारी उत्पादन
गरिरहेको छ ।

कुपोषणको समस्या भोगिरहेको राक्सिराङ गाउँपालिकामा ताजा तरकारीमार्फत पोषणको परिपुरण गर्नका लागि तरकारी खेती गरी स्थानीयलाई केही मात्रामा वितरण गर्ने गरिएको स्वास्थ्य चौकी प्रमुख गौतमले बताए । ‘सबै सेवाग्राहीलाई तरकारी उपलब्ध गराउन त सकिएके छैन तै पनि सेवा लिन आउने प्रायलाई करेसाबारी देखाएर केही तरकारी हातमा हालेर पठाउँछौं साथै सानो क्षेत्रमा थोरै लगानीमा पनि तरकारी उत्पादन गर्न सकिनेबारे ज्ञान दिएर पठाउँछौं ।’ गौतमले भने ।

यसअघि सरिखेत स्वास्थ्य चौकीको प्रमुख रहेर काम गरेका गौतमले त्यहाँस्थित
करेसाबारीमा पनि तरकारी खेती गरेर नमूना काम गरेका थिए । ‘तरकारी फलाउन कुनै छुट्टै समय लिनु पर्दैन फुर्सत भएको बेला मौसमअनुसारको तरकारी लगाई केही कुहिने
फोहोरहरुको मल बनाएर छरिदिएपछि तरकारी फलिहाल्छ । सबै गाउँबासीले कम्तीमा पनि आफ्नो घरमा खान पुग्ने तरकारी आफैं उत्पादन गर्न सक्छन् भनेर देखाउनको लागि पनि यो कामलाई निरन्तरता दिएको छु ।’ गौतमले भने ।

राक्सिराङ गाउँपालिकामा रहेको अन्य स्वास्थ्य चौकीहरूमा पनि करेसाबारी निर्माणका लागि पनि आफूले योजना बनाएको उनले सुनाए । स्वास्थ्य चौकी प्रमुख गौतमको सक्रियतामा गाउँपालिकाको सार्वजनिक जग्गामा फूल तथा अन्य विरुवा रोपण पनि गरिरहेका छन् । विभिन्न प्रकारका फलफूलका विरुवा नर्सरीबाट खरिद गरी उनले गाउँपालिका र स्वाथ्य चौकी परिसरलाई हराभरा बनाउन लागिपरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here