हेटौंडा–हेटौंडा–९ मा रहेको नारायणी बहुद्देश्यीय सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो २४ औं वार्षिक साधारणसभा एवम् रजत महोत्सव मनाएको छ । पुस ९ गतेदेखि पुस १५ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बुधबार एक कार्यक्रमकाबीच सप्ताहव्यापी कार्यक्रम समापन तथा साधारणसभा सम्पन्न गरिएको हो । संस्थाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सरसफाई कार्यक्रम, नगरस्तरीय वक्तृत्वकला, रक्तदान, वृद्धवृद्धा सम्मान, वृक्षरोपण, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, खाद्यान्न बितरणलगायतको कार्यक्रम गरिएको थियो ।

संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको रजत महोत्सव समापन तथा २४ औं वार्षिक साधारणसभा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको अतिथ्यता रहेको थियो ।

सहकारीले रजत महोत्सवको अवसरमा विभिन्न पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो । एसईईमा उत्कृष्ट हुने युनिस सुवेदी र कृतिमा ढकाल, असल बचतकर्ता उदयराज खनाल, असल मासिक बचतकर्ता सुमित्रा कुमारी पोखरेल, असल ऋणी दमयन्ती राई दाहाल, खुत्रुके बचतकर्ता रितिस्मा मगर, उत्कृष्ट बचत समूह एन्टार्टिक विष्कुट कर्मचारी बचत कोष, स्वरोजगार सदस्य इन्दिरा पौडेल, टोल विकास संस्थामा धाप टोल विकास संस्था, शिवम् सिमेन्ट विक्रेताहरुलाई सम्मान गरिएको थियो ।

हेटौंडा ९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, पत्रकार प्रताप विष्ट, निवर्तमान अध्यक्ष निरन्जन ढकाललाई समेत सम्मान गरिएको थियो । सहकारीले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीमा एक हजार ८ सय ७ जना शेयर सदस्य रहेका छन् । सहकारीले बचत तथा ऋणको कारोबार साथै निर्माण सामाग्री तथा ग्यासकोसमेत व्यावसायिक सेवा प्रदान गर्दै आएको छ ।

सहकारीले बितेको आर्थिक वर्षमा मात्रै एक अर्ब १७ करोड ८८ लाख रुपैयाँको आर्थिक कारोबार गरेको जनाइएको छ । ४ करोड ७५ लाख ७८ हजार शेयरपुँजी रहेको सहकारीमा २१ करोड ७९ लाख १४ हजार बचत निक्षेप रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here