हेटौंडा–मकवानपुरको कैलाश गाउँपालिकामा गत पुस १६ गते भरुवा बन्दुक पड्किएर एक जना घाइते भएको विषयमा आफ्नो नाम जोडेर स्थानीयले झुठो आरोप लगाएको भन्दै ५ नम्बर वडाध्यक्ष छेकु लामाले आपत्ति जनाएका छन् ।

लामाले प्रदेश सञ्चारसँग कुरा गर्दै बन्दुक लिएर सिकार गर्न आफूले पठाएको भनी स्थानीयले लगाएको आरोप झुठो भएको बताए । ‘घटना भएको दिन म गाउँमै थिइनँ । घाइते भएको मान्छेसँग पनि मेरो कुनै नजिकको सम्बन्ध छैन । कसैले राजनीतिक प्रतिशोध साँधेर मविरुद्ध आरोप लगाएका हुन् । त्यो सबै कुरा झुठो हो ।’ लामाले भने । घटना भएको केहीदिनपछि आफूले थाहा पाएको र अस्पताल जान सुझाव भने दिएको उनले स्पष्ट पारे ।

कैलाश गाउँपालिका–५ स्थित कटहरेमा गत १६ गते भरुवा बन्दुक पड्किएर ५८ वर्षीय कृष्णबहादुर वाइबा घाइते भएका थिए । बिहीबार घटना घटेकोमा आइतबार साँझ मात्र कृष्णबहादुरलाई हेटौंडामा उपचारको लागि ल्याइएको थियो । वडाध्यक्षकै निर्देशनमा सिकार गर्न गएको र उक्त घटना भएको स्थानीयबासीले दावी गरेका थिए । तर, वडाध्यक्ष लामाले भने त्यसको खण्डन गर्दै उक्त घटनामा आफ्नो कुनै संलग्नता र जानकारी नभएको बताएका छन् ।
घाइते कृष्णबहादुरको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

भरुवा बन्दुकको बारुद भर्ने क्रममा पड्किएर कृष्णबहादुरको कुममा चोट लागेको प्रहरीले पुष्टी गरेको छ । ‘हाम्रो टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा अवैधानिक भरुवा बन्दुक पड्किएर घटना भएको पुष्टी भयो । हामीले बन्दुक बरामद गरिसकेका छौं भने अबैधानिक बन्दुक खेलाउने घाइते वाइबालाई पनि कानुनअनुसार कारबाही हुन्छ ।’ मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here