हेटौंडा– अमेरिकी संसद् भवनमा भएको राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको मेडिकल आपत्‌कालीन अवस्था कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

हालसम्म कम्तिमा पनि ५२ प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उल्लंन गर्नेहरू रहेको बताइएको छ । अहिले वाशिङ्टन डीसीमा कर्फ्यु आदेश जारी गरिएको छ भने सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन् । निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थकहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रक्रिया नै अवरूद्ध भएको थियो। सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले हासिल गरेको विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रक्रियामा सहभागी भइरहेका छन् ।

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी संघीय संसद् भवनमा जबर्जस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नु परेको बताइएको थियो । संसदीय प्रक्रिया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसद्हरूले आफ्नो ठाउँका निर्वाचन मत परिणाम उल्ट्याउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ।

राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् । उनले अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए।बीबीसीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here