हेटौंडा–मकवानपुरे साहित्यकार दीपक गौतमको आफ्नो पहिलो कृतिको रुपमा मुक्तक सङ्ग्रह सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमकाबीच गौतमको मुक्तक सङ्ग्रह ‘विसङ्गत वर्तमान’ विमोचन गरिएको हो ।

एक सय ५१ वटा रुवाइयात शैलीको मुक्तक समेटिएको मुक्तक सङ्ग्रहलाई झरना साहित्यिक परिवारले प्रकाशन गरेको हो । गौतम सोही संस्थाका अध्यक्षसमेत हुन् । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको पुस्तक विमोचन तथा विमर्श कार्यक्रम सञ्जालका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएकाे हाे । साहित्यकार सरुभक्त प्रमुख अतिथि रहेको कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार विश्वनाथ सञ्जेल गौतमका सङ्ग्रहमा आक्रोश विरोधका साथै शृङ्गारिक भावका मुक्तक समेटिएको बताए । जीवन बोधका अभिव्यक्तिका साथै बुबाआमालाई वृद्धाश्रम पठाउने विसङ्गत मनोविज्ञानलाई पनि मुक्तक सङ्ग्रहमा उजागर गरिएको उनले बताए ।

सङ्ग्रहमाथि प्यानल डिस्कसनसमेत गरिएको थियो । राम अविकासको सहजीकरणमा घनश्याम घिमिरे, शान्तिप्रिय बन्दनाले पुस्तकमाथि टिप्प्णी गरेका थिए भने लेखक गौतमले पनि उठेका जिज्ञासा र प्रश्नहरुमाथि जवाफ दिएका थिए ।
कार्यक्रममा लोकेन्द्र डहरे, सन्तोष अमगाईं, बिर्खे अन्जान र आरसी रिजालले मुक्तक बाचन गरेका थिए । कार्यक्रममा लेखक गौतमका पिता बलराम गौतमलगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here