काठमाडौं– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौरमा बुधबार आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

प्रथम सुनिल स्मृति गाउपालिका अध्यक्षकप खेलकुद प्रतियोगिताका अवसरमा सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले प्रधानमन्त्री ओली विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणीसमेत गरे ।

‘प्रधानमन्त्री ओलीले तत्कालीन नेकपाले घोषणा गरेजस्तो विकासको सपना पूरा गर्न सक्नु भएन,’ उनले भने, ‘तत्काल गर्नुपर्ने काम नगर्ने तर १०,२० वर्षपछि हुनसक्ने कामलाई सपनाको रुपमा बाढ्ने काम भयो।’ प्रधानमन्त्रीले गरेका घोषणा गफमै सीमित भएको उनको भनाइ थियो । कामको प्राथामिकता छुट्याउने र सोही अनुसार काम गर्ने क्षमता प्रधानमन्त्रीमा नरहेको अनुभव आफूले क्याविनेटमा हुँदा गरेको उनको भनाइ थियो ।

अहिले पनि २० प्रतिशन नागरिक खाना नपुग्ने अवस्थामा छन् । तर प्रधानमन्त्री त्यो प्राथामिकताको विषयमा प्रवेश नगरी रेल, पानी जहाज पनि ल्याउने विषयको पछि प्रधानमन्त्री लागेको उनले बताए । ‘आजको आवश्यकता र प्राथामिकता किटान गरेर काम गर्नुपर्दछ, उनले भने– ‘प्रथामिकता किटान नहुंदा प्रधानमन्त्रीको आलोचना भयो, त्यसपछि उहाँ आलोचक खोज्दै गाली गर्न थाल्नुभयो।’

केही दिनभित्रै समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता हुने उनले बताए। ‘केही दिनपछि ओलीजी हटाइनुभयो,अविश्वासको प्रस्ताव पेश भयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाउनु हुनेछ,’ उनले भने।

नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए । उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दा पनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनको भनाइ छ । प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दा पनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको टिप्पणी उनले गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here