हेटौंडा–खाडी मुलुक साउदी, कतार, बहराइन, ओमनलगायतका देशमा नेपालीले गर्दै आएको संघर्षको यथार्थ कथा उतारिएको किताब सनैयाको गृह बिमोचन गरिएको छ । हेटौंडेली पत्रकार होम कार्कीद्वारा लिखित सनैयाको शुक्रबार हेटौंडामा बिमोचन गर्दै पुस्तकमाथि छलफलसमेत गरिएको थियो ।

कान्तिपुरका लागि कतारमा रहेर काम गर्दा प्रत्यक्ष अनुभव गरेका विषयबस्तुहरु कार्कीले पुस्तकमा उतारेका हुन् । सनैया अर्थात अरबी भाषामा औद्योगिक क्षेत्र । त्यही सनैयामा भेटिएका मजदुरहरुसँगको प्रत्यक्ष भेटघाट र अनुभव साटासाटपछि कार्कीले ३ सय ५९ पृष्ठ लामो किताब तयार गरेका हुन् । किताब लेखनको लागि सामान्य भेटघाटमा गरिएका रेकर्डिङबाहेक आफूले ५ सय ४० जनासँग औपचारिक अन्तरवार्ता नै लिएको कार्कीले पुस्तकमा उल्लेख गरेका छन् ।

‘मैले कतारमा रहेर कान्तिपुरमा काम गर्दा रिपोर्टिङका क्रममा देखे भोगेका सबै विषय समाचारमा अट्न सम्भव भएन, समाचार बाहेकका विषयहरु धेरै हुन्थे । समाचारमा पनि समेट्न नसकिएका विषयहरुलाई उल्लेख गरेर मैले पुस्तक बजारमा ल्याएको छु ।’ कार्कीले भने– खाडी मुलुकमा नेपाली कामदारका दुःख, संघर्षको यथार्थ कथाले नै सनैया जन्मियो ।’

सनैयामाथि समिक्षक घनश्याम घिमिरे, कवि सुवास खनाल र लेखक होम कार्कीले पुस्तकमाथि विमर्श गरेका थिए । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा पुस्तक विमोचन तथा अन्तरक्रिया भएको हो । कार्यक्रमको अध्यक्षता गरेका सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सनैया साहित्य र पत्रकारितालाई जोड्ने गरी तयार भएको रिपोर्ताज भएको विश्लेषण गरे । काल्पनिक आख्यान मात्र नभई यथार्थ घटनालाई समेटेर पुस्तक तयार भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here