काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रकातर्फबाट राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट सदस्य निर्वाचित रामबहादुर थापा बादलको रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने आयोगले जनाएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ वैशाखमा नेपाल सरकारको निर्णयबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको बताएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पदरिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त भएको थियो । थापा हाल नेकपा एमालेको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा छन् ।

उपनिर्वाचनको मिति तय भएसँगै आयोगले दल दर्ता गर्ने समयावधि पनि तोकेको छ । जसअनुसार १० देखि १४ वैशाखसम्म दल दर्ताको समय निर्धारण गरिएको र उपनिर्वाचनमा भाग लिन चाहने दलले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताको निवेदन दिन सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here