हेटौंडा–साहित्य सङ्गम मकवानपुरले शनिबार विभिन्न विधाका १० जना साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ । हेटौंडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको विधागत पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

सङ्गमको गत चैत ७ गतेको कार्यसमिति बैठकले सम्मान/पुरस्कारको लागि साहित्यकारको छनौट गरेको थियो । सङ्गमले गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरेको छ । नगद २० हजार रुपैयाँसहित उनलाई सम्मान गरिएको हो । यो सम्मान नाटककार्साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको हो ।

यस्तै आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको पारिजात स्मृति सम्मानबाट डा. अरुणा उप्रेती सम्मानित भएकी छन् । नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित उप्रेतीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैगरी, मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ तिम्सिनाको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । उनले साहित्य संगमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर काम गरेकी थिइन् ।

भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठले प्राप्त गरेका छन् । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा उनको परिवारले यो सम्मान स्थापना गरेका हुन् ।

यस्तै यस्तै नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला आँशु लाई प्रदान गरिएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई सम्मान गरिएको हो । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेका हुन् ।

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजालले प्राप्त गरेका छन् । रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।
त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । सङ्गगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित प्रदान गरिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेकोमा यसवर्षबाट आशुतोषले वृद्धि गरेका हुन् ।

यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गरिएको हो । शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमित तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्प्रर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ ।

सङ्गमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३ सय ६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण समारोहमा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here