हेटौंडा– कोरोना संक्रमण जोखिमबाट बच्न हेटौंडा बजार आंशिक रुपमा बन्द हुने भएको छ । आज बुधबारदेखि भीडभाड हुने सेवा कार्यालयका काम बन्द गरिएका छन् । सैलुन, ब्यूटीपार्लर र मदिराका पसल पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गराइएको छ । विभिन्न पसलहरु हप्तामा तीन दिन पालैपालो मात्र खुल्ने गरी मकवानपुर उद्योग वाणिज्य संघले तालिका बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सेवाग्राहीको अत्याधिक भीड हुँदा कोरोना संक्रमण रोक्न सकस पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडा र यातायात व्यवस्था सेवा कार्यालय बन्द गरेको छ । कार्यालय बन्द भएपनि आन्तरिक कार्य भने गरिने जानकारी प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गर्दै हप्तामा तीन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न र यसको व्यवस्थापन निम्ति बैंकर्स एसोसिएसनलाई जिम्मेवारी तोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकारी, सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । उनका अनुसार नागरिकलाई सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याएका एटिएम सेवाहरू चौबीसै घण्टा खुला राख्नपर्ने भएको छ ।

जिल्लामा रहेका सहकारी संस्थाहरूले सेवाग्राहीहरूको घर तथा पसलबाट नगद संकलन गर्ने कार्य हाललाई बन्द गर्ने र आलोपालो गरी हप्तामा तीन दिनमात्र खोल्न पाउने भएका छन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार मकवानपुरका स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आइसोलेशन व्यवस्थापन भइसकेको र एक स्थानीय तहमा भने चाँडै व्यवस्थापन गरिने तयारी भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ।

मकवानपुरमा संक्रमित दैनिकजसो थपिइरहेका छन् । मंगलबार हिजो पनि ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक, कोभिड–१९ का फोकल पर्सन भोलाप्रसाद चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३६ जना, मकवानपुरगढी गाउँपालिकाको एक जना र हेटौंडा बसोबास गर्ने बाराका एकजना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here