हेटौंडा–कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएसँगै मकवानपुरमा पनि गए राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । बैशाख ३१ गते राति १२ बजेसम्मको लागि मकवानपुरको हेटौंडा, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकामा निषेधाज्ञा गरिएको हो । त्यस्तै मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा पनि निषेधाज्ञा लागू हुनेछ ।

शनिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्ने पसल बिहान ५ः०० वजेदेखि बिहान ९ः०० बजेसम्म मात्र खोल्न पाइनेछ । औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप भने नियमित सञ्चालन हुनेछ ।

निषेधाज्ञाको समयमा पनि एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन भने सञ्चालन हुन सक्नेछन् । यसबाहेकका कुनै पनि सवारी सञ्चालन हुन पाउने छैनन् ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय क्षेत्र एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन÷सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने कोभिड–१९ संक्रमण व्यवस्थापन तथा नियन्त्रण समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

अन्य जिल्लाबाट आएका पूर्व–पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू मकवानपुर जिल्लामा नरोकिने गरी आवत जावत गर्न दिइनेछ भने अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो सञ्चालन हुनेछ ।

बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी बिहान ९ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गर्न पाइनेछ भने बिवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा सम्पन्न गर्न पाइनेछ । श्रमिकहरुलाई उद्योगभित्रै राखेर उद्योगधन्दासमेत सञ्चालन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here