हेटौंडा–हेटौंडामा आज शनिबारबाट निषेधाज्ञा पालनामा थप कडाई गरिएको छ । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गएपछि थप प्रतिबन्धसहित निषेधाज्ञा पालनामा कडाई गरिएको हो ।

गए राती १२ बजेबाट लागू हुने गरी जेठ १३ गतेसम्मको लागि मकवानपुर जिल्लाभर निषेधाज्ञा लागू भएको छ । यसअघि जेठ १९ गतेदेखि ३१ गतेसम्मको लागि हेटौंडासहित जिल्लाका ४ वटा स्थानीय तहमा निषेधाज्ञा गरिएको थियो । संक्रमण फैलँदै गएपछि जिल्लाभर नै निषेधाज्ञा लागू गर्ने निर्णय भएको हो ।

यसअघि दैनिक ३ घण्टा सञ्चालन हुँदै आएको अत्यावश्यक सामाग्री बिक्री गर्ने पसलसमेत अब हप्तामा दुइदिन मंगलबार र शुक्रबार मात्र खोल्न पाइने भएको छ । हेटौंडाको मुख्य बजार क्षेत्र उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा पुल, पूर्वमा क्याम्पाडाँडा र पश्चिममा थानाभ¥याङ क्षेत्रभित्रका औषधि र अक्सिजन बिक्री गर्ने पसलबाहेक अन्य पसलहरु हप्तामा दुइदिन बिहान ५ देखि ८ बजेसम्म मात्र खोल्न पाइने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

बढी भीड हुने खोपेगल्ली र बसपार्कको तरकारी बजार र माछामासु बजार पनि पनि सम्पूर्ण समयमा बन्द गर्ने निर्णय भएको छ । हेटौंडा उपमहानगरभित्रका बैंकहरु एक चौथाई कर्मचारी उपस्थित गराई हप्तामा दुइदिन मंगलबार र शुक्रबार बिहान ९ देखि १ बजेसम्म मात्र खोल्न पाइनेछ । हेटौंडा बाहेकका क्षेत्रका बैंकहरु भने दैनिक ९ देखि १ बजेसम्म सञ्चालन हुनेछन् । अन्य वित्तीय संस्था, सहकारी, इन्स्योरेन्स, मनी ट्रान्सफरलगायतका संस्थाहरु पूर्ण रुपमा बन्द गर्नुपर्नेछ ।

अन्य जिल्लाबाट आएका पूर्व–पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू मकवानपुर जिल्लामा नरोकिने गरी आवत जावत गर्न दिइनेछ । हेटौंडाको तोकिएको क्षेत्रमा लोड अनलोड गर्न र आवतजावत गर्न भने बिहान १० देखि ३ बजेसम्मको समय तोकिएको छ ।

धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गर्न पाइनेछ भने बिवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा सम्पन्न गर्न पाइनेछ । श्रमिकहरुलाई उद्योगभित्रै राखेर उद्योगधन्दासमेत सञ्चालन गर्न सकिनेछ ।

जेठ १ गते शनिबार बिहान हेटौंडा बजार क्षेत्रको दृश्य

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here