एसके.निधन

२०७८ बैशाख २४ गते बिहानसम्म बालुवाटारमा एउटा अहम र घमण्डको गर्जन गुन्जिदै थियो ‘जित सुनिश्चित नभएसम्म मनोनयन दर्ता गर्दिनँ ।’ यो सामान्य घमण्डको हुङ्कार मात्र थिएन एउटा घुर्की र बार्गेनिङसमेत थियो तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा वलीसँग गरेको । अदालती निर्णयबाट पुर्व माओबादी (केन्द्र) र नेकपा एमालेलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि राजनैतिक समिकरणले पनि अनौठो धुर्बिकरण समात्यो । माओबादीको कोटाबाट गृहमन्त्री बनेका बादलले पुर्व माओबादीको सानोतिनो समुहको नेतृत्व गर्दै केपी नेकपा एमालेमा नै समाहित हुने निर्णय गरे ।

अर्को तर्फ नेकपा एमाले भित्रकै माधव नेपाल समुहले बिपक्षी दल संग हातेमालो गर्दै आफ्नै पार्टी नेतृत्वको सरकारको बिरोधमा मोर्चाबन्दीमा उत्रियो । स्थिर सरकार निर्माण गर्ने सपनाको जगमा उभिएका केन्द्र देखि प्रदेश र स्थानीय तहका कम्युनिष्ट सरकारहरु आपसी खिचातानीमा अल्झिन पुगे । रातारात सरकार ढाल्ने ,उठाउने ,कारबाही गर्ने ,कारबाही फुकावा गर्ने प्रक्रियाको थालनी र निरन्तरताले विकृत रुप धारण गर्यो । यसैको एउटा पाटो थियो बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन ।

अझ चोटिलो बिषय त के थियो भने दल त्याग सम्बन्धी कानुनको आधारमा माओबादी केन्द्रले रामबहादुर थापालाई कारबाही गरेपछी रिक्त रहेको स्थानमा नेकपा एमालेले उनै थापालाई पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । यसैले थापाले मनोनयन दर्ता पुर्व नै सुनिस्चित जितको माग राखेका थिए किनकी नेपाल समुहको समेत समर्थनमा कांग्रेस,माओबादी र जनता समाजबादी दल तर्फको उम्मेदवार डा. खिमलाल देवकोटाको जित अङ्गणितीय रुपमा प्रवल देखिएको थियो ।

अन्योलताको बीच बालुवाटारबाट हेलिकप्टर उड्यो । केपी वलीले कस्तो सुनिस्चितता देखाएर थापालाई सम्झाए भन्ने कुरो त बाहिर आएन तथापी मनोनयन दर्तामा देखिएको उत्साह र सरगर्मीले बिशेष आन्तरिक तयारीको आभाष अवश्य दिलाउथ्यो । निर्वाचन पुर्व जित सुनिस्चित गर्नु मतदाताको मतको कदर गर्नु थियो कि व्यक्तिगत दम्भ थियो भन्ने हेक्का न त केपी वलीले गर्न सके न त आफ्नो राजनैतिक भविष्यको अगम बक्ता नै केपी वलिलाई सम्झेका राम बहादुरले अनुमान गर्न सके ।

बैशाख २४ गते पछी नेपालको राजनीतिमा ठुला नाटकीय खेलहरु चले । प्रधानमन्त्रीले बिश्वासको मत परिक्षण मात्रै गरेनन , जसपाको एक समुहको तटस्थता र माधव समुहको मतदानमा सहभागी नहुने निर्णयको परिणामस्वरूप उनि बिश्वासको मत लिन असफल हुदै प्रधानमन्त्रीबाट पद मुक्त समेत बने । र पनि राजनीतिको नाटकीय रुपान्तरण फेरी पनि केपी वली अनुकुल बन्यो ।

जनता समाज बादी पार्टीको महन्त ठाकुर खेमाको वली प्रेम माधव समुहको पुनर्मिलन मोहले गर्दा विपक्षीलाई नयाँ सरकार गठन गर्न बहुमत पुगेन र ठूलो दलको हैसियतमा खड्क प्रसाद वली कै हातमा सत्ताको वागडोर पुग्यो । बिबाद पूर्ण निर्णय गर्न माहिर प्रधानमन्त्री पुन राम बहादुर थापाको भाग्य विधाता बने । केपीको वादल मोहले बिधान र कानुनको प्रवाह गरेन । गैर सांसद थापा पुनः गृहमन्त्रीमा नियुक्त भए ।

राजनैतिक करियरको अर्थ पूर्ण निर्वाचनमा सहभागी हुन हिजो हेटौडा आइपुगेका थापाको अनुहारको चमकले बताइरहेको थियो कि सुनिस्चित बनाएको उनको जित निश्चित थियो । चुनावको मुखमा गुमेको गृहमन्त्री पदमा चुनाव पुर्व नै पुनरबहाली हुनु ,बिद्रोही माधव नेपाल समुह कार्यदल गठन सहित एमालेको मुलधारमा फर्किनु ,राप्रपाले आधिकारिक रुपमा नै समर्थन गर्नु मात्रै नभएर खिमलाल देवकोटा जस्तो बौद्दिक र बिज्ञलाई समेत अयोग्य भन्दै मताधिकार बहिष्कार गर्ने बिबेकशील साझाको अविवेकी निर्णय रामबहादुरकै पक्षमा देखिन्थ्यो ।

निर्वाचन आचार संहिताको समेत धज्जी उडाउदै प्रधानमन्त्री र उप–प्रधानमन्त्रीले जारी गरेको अघोषित पार्टी ह्विप पनि थापाकै हितकर पक्षमा थियो ।सार्वजनिक रुपमा असहयोगको घोषणा गरे पनि अब माधव समूह केपीको पन्जामा परिसकेकोले थापाको बिकल्पमा जाँदैन भन्नेमा उनि निकट श्रोत पनि ढुक्क थियो ।

भन्न त भन्ने गरिन्छ राजनीतिको खोलो सधै सिधा बाटोमा हिड्ने गर्दैन । रामबहादुरको सवालमा त आज खोलो बाङ्गो मात्रै होईन उल्टो दिशामा बगिदियो । निर्वाचनमा मतदान चलेकै बेला सर्वोच्चले बिल्कुलै अनेपेक्षित निर्णय सार्वजिक गर्यो । चोलेन्द्रशमशेरको एकल ईजालासले उनि लगाएत गैर सांसद हुँदा हुँदै पनि दोस्रो कार्यकालको नियुक्ति पाएका सातै जना पुर्वा माओबादी नेताको मन्त्री पद नियुक्ति असंबैधानिक भन्दै बदर गरि दियो ।

यसो हुदै गर्दा पनि उनि निकट श्रोत सामाजिक संजालमा लेख्दै थियो “छ वर्षे कार्यकालको संसद पदको समेत वास्ता नगरी एमाले प्रवेश गर्नु भएको कमरेडले जाबो अस्थाई मन्त्री पद गुम्नुलाई सामान्य रुपमा लिनु भएको छ । आज हुने उहाको स्पष्ट जितले बन्द ढोकाहरु छिट्टै खुल्ने छन ।“ तर जब निर्वाचनको परिणाम सार्वजनिक भयो सबै अनुमानमा तुषारापात भयो । झन्डै हजार मतभारको बिशाल अन्तरले बादलको जितमा ग्रहण लाग्यो । खड्क प्रसाद वलीको सुनिस्चित जितको ग्राण्ड डिजाइनले फेल खायो ।

मनोनयन दर्तामा बादललाई बोकेर वालुवाटारबाट उडेको हेलिकप्टर शायदै उनको हारमा सान्त्वना दिन हेटौडा आउला ।एकै दिनमा गृहमन्त्री पद र सुनिस्चितताको ग्राण्डडिजाईन गरिएको राष्ट्रिय सभा सदश्य पदको निर्वाचनमा समेत नमिठो हारको भारी बोकेर राम बहादुर थापा काठमाडौं फर्किदै छन् । यसो त राजनीतिमा पद प्राप्त हुनु र हार जित हुनु सामन्य पाटा हुन तर यसपटको हारले दुईवटा गम्भीर पाटोको उजागर गरेको छ ।जसको दृष्टान्त यहाँ उल्लेख गर्नु जरुरी छ ।

पहिलो दृष्टान्त
बादलको हारले नेपाली राजनीतिको प्रजातान्त्रिक मुल्य र मान्यतामा अलिकति भए पनि मलजल पुर्याएको छ । निर्वाचन भनेको त्यस्तो प्रजातान्त्रिक प्रक्रिया जहाँ ब्यालेट बक्समा मत खस्नु पुर्व कसैको जित सुनिस्चित हुदैन । कसैको व्यक्तिगत स्वार्थ र दम्भ भन्दा माथि निर्वाचन प्रक्रिया हुन्छ भन्ने मान्यता यहानेर स्थापित भएको छ ।

अर्को तर्फ यो निर्वाचनले नेताहरुमा अलिकति सस्कार पनि हुनु पर्छ भन्ने देखाएको छ । रातारात हुने एकता र सहमतिले अनैतिक आचरणलाइ बढुवा दिनु हुदैन भन्ने दृश्य पनि यसले दिएको छ ।माधव नेपाल समुहको समेत पूर्ण समर्थनमा मनोनयन दर्ता गरेका देवकोटालाई हराउदै बादललाई जिताउने खेलामा त्यहि समुह लागेको भए त्यो केवल नेपाली राजनीतिमा प्रायस्देखिने अवसरबादी कु(सस्कारको निरन्तराता हुने थियो । तर माधब नेपालले यसपटक आफ्नो ढुलमुले आचरणमा परिवर्तन ल्याउदै आफुलाई वचन र प्रतिवद्दता प्रति स्पष्ट अडान लिन सक्ने नेताको हैसियतमा अलिकति भए पनि स्थापित गर्न सफल भए ।

दोस्रो दृष्टान्त
आजको निर्वाचनमा भएको मत विभाजनले अन्तरपार्टी जीवनमा भने गम्भीर धक्का लागेको छ । यसले कलह र विग्रहको बाटोबाट सच्चिदै एकताको मुलधारमा फर्किने तयारीमा रहेको नेकपा एमालेलाई अर्को झट्का दिएको छ ।

एक ढिक्का एमाले देख्ने रहरमा उत्साहित देशै भरिका कार्यकर्तालाई आजको परिणामले निराशा बनाएको छ ।पार्टी भित्र पार्टी हुनु , केन्द्रीय निर्णयको पालना नगर्नु ,पार्टी नेतृत्वको वार्खिलापमा उभिनुले बलियो पार्टीको निर्माण हुन सक्दैन । आफ्नो पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा आधिकारिक चुनाव चिन्ह सूर्यमा मतदान नगरी पार्टी बाहिरबाट उठाईएको स्वतन्त्र व्यक्तिको पक्षमा उभिनुले पार्टी जीवनमा दुरी कायम गर्नु र विग्रहको बीजारोपणमा मलजल गर्नु बाहेक अर्को उपलब्धि देखिदैन ।

अन्त्यमा ,यसो त केपी वली राजनीतिका धुर्त, चतुर र सफल खेलाडी पनि हुन् । बादलको निरन्तर घुर्की र अप्राकृतिक पद वार्गेनिंगबाट छुटकारा पाउने बलियो उपायको रुपमा उनले यो घटनाक्रमलाई सजिलै स्वीकार्न पनि सक्छन् । किनकी राम बहादुर थापाले घर छोडिसकेका छन र अब वाउठिएर घाट समेत छोड्न सक्ने अवस्थामा उनी छैनन् ।

बादललाई एमालेको छायाबाट उम्किने अवस्था नरहेपछि माधब समुहको आजको मतदानलाई आधार मानी पार्टी एकताको अभियानबाट केपी वली पछाडी फर्किनु पर्ने अवस्था सायद देखिदैन होला । बादल समुहलाई एमालेमा रहिरहनुको अर्को विकल्प नहुनु अनि एमाले एक ढिक्का हुदा पनि माधव समूह र बादल समुहको आन्तरिक दुरी लामो हुनुलाई वलीले आफ्नो पक्षको सुविधाजनक अर्थमा नबुझ्लान भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here