हेटौंडा–हेटौंडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालयको आयोजनामा बुधबार अनलाइन साहित्यिक प्रशिक्षण सञ्चालन गरिएको छ । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीलाई साहित्यप्रति उत्प्रेरित गर्ने उद्देश्यले काव्य विधाअन्तर्गतका कविता, गजल र मुक्तकमा केन्द्रित भई साहित्यिक प्रशिक्षण दिइएको थियो ।

कवि तथा साहित्यकार सुवास खनालले प्रशिक्षण दिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावक गरी ९० जनाको सहभागिता रहेको थियो । नियमित शिक्षण बाहेक विद्यालयले हरेक हप्ता सिकाइ सहजीकरणअन्तर्गतको एक र अतिरिक्त क्रियाकलाप अन्तर्गतको एक गरी दुईवटा कार्यक्रम सञ्चालन गर्ने र त्यसअन्तर्गत सिकाई सहजीकरण कार्यक्रमका निम्ति खनालले काव्य विधाअन्तर्गत साहित्यिक विधागत प्रशिक्षण प्रदान गरेको विद्यालयले जनाएको छ ।

अनलाइनमार्फत हर्क रम्तेलको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष रम्तेलले ज्योति माध्यमिक विद्यालय सिर्जनात्मक गतिविधि सञ्चालनका निम्ति सधैँ तत्पर रहेको बताए । साथै सहायक प्रधानाध्यापक चौलागाईँले विद्यालयले परीक्षाफल पनि अनलाइन माध्यमबाट प्रकाशन गर्न सफल भएको र नयाँ शैक्षिक वर्षका कक्षाहरू पनि अनलाइन माध्यमबाटै सञ्चालन भइसकेको जानकारी दिए ।

कार्यक्रममा अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली र शिक्षक सुलोचना घलानले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयकी छात्रा दृष्टि धिमालले अङ्ग्रेजी भाषाको कविता वाचन गरेकी थिइन् । कार्यक्रममा शिक्षकहरू अनु रोक्का ,अश्विनी अर्याल, जीवन गुरुङ , युवराज लोप्चन , सपना माल्बुले लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here