हेटौंडा–नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शनिबार भर्चुअल माध्यमबाट राष्ट्रव्यापी माध्यमिक तहस्तरीय कविता प्रतियोगिता भएको छ । प्रतियोगिताबाट उत्कृष्ट ३ जना छनौट गरी पुरस्कृत गरिएको छ ।

गत वर्ष जेठ १ गतेदेखि सुरु भएको नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा सहभागी देशभरका ३० कविमध्येबाट छानिएका १० उत्कृष्ट कविहरूको कविता शनिबार भर्चुअल माध्यमबाट भएको कार्यक्रममा बाचन गरिएको थियो ।

प्रतियोगितामा कपिलवस्तुस्थित श्री मावि कक्षा–११ का छात्र शिरीष बन्जाडे, कपिलवस्तुकै चिल्ड्रेन प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल कक्षा–६ की जोशिका कँडेल “निशा“ र मकवानपुरस्थित जी.एस.निकेतन मावि कक्षा–१० की रोश्नी चौलागाईं उत्कृष्ट ३ मा छनौट भएका छन् । उनीहरुलाई नगद रु. तीन हजार रुपैयाँसहित प्रमाणपत्र र केही थान साहित्यिक कृतिसहित पुरस्कृत गरिने आयोजक नवसर्जक साहित्य चौतारी नेपालका उपाध्यक्ष विभूति अधिकारीले जानकारी दिए ।

चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता तथा साहित्यकार एवम् समालोचक डा. नेत्र एटमको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । कार्यक्रममा कविहरू प्रोल्लास सिन्धुलीय, टीका आत्रेय र सुदेश सत्यालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्रतियोगिताकी पुरस्कार व्यवस्थापक बिन्दा पराजुली बराल, रेडियोकर्मी राम अविकास, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बन्जारा रानाभाट, अर्चना दाहाल, जयन्ती आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here