हेटौंडा–संघीय सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मकवानपुरका स्थानीय तहहरुलाई सबै प्रकारका अनुदान गरी कुल ४ अर्ब १९ लाख रुपैयाँ प्राप्त भएको छ ।

जसमध्ये चालुतर्फ ३ अर्ब ७१ करोड २१ लाख र पुँजीगततर्फ २८ करोड ९८ लाख रुपैयाँ प्राप्त भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फको बजेटअनुसार मकवानपुरमा समानीकरण अनुदानतर्फ एक अर्ब ३३ करोड १४ लाख, सशर्ततर्फ चालु र पुँजीगत गरी २ अर्ब ४७ करोड रुपैयाँ, विशेष अनुदानतर्फ चालु र पुँजीगत गरी ११ करोड ७२ लाख र समपुरकतर्फ ७ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकालाई सबै प्रकारका अनुदान गरी एक अर्ब १ करोड १९ लाख, थाहा नगरपालिकालाई ४३ करोड ५५ लाख रुपैयाँ, इन्द्रसरोबर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाश गाउँपालिकालाई २६ करोड २३ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै बकैया गाउँपालिकालाई ४० करोड, बागमती गाउँपालिकालाई ३१ करोड ३३ लाख, भीमफेदी गाउँपालिका ३३ करोड ६३ लाख, मकवानपुरगढी गाउँपालिका ३८ करोड ५२ लाख, मनहरी गाउँपलिका ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिका ३० करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विशेष अनुदानतर्फ जम्मा ११ करोड ७२ लाख छुट्याइएकोमा थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, मकवानपुरगढी, मनहरी र राक्सिराङ गाउँपलिकाले मात्र बजेट प्राप्त गरेका छन् । विशेष अनुदानतर्फ थाहा नगरपालिकालाई १ करोड ८ लाख, इन्द्रसरोबर गाउँपालिकालाई एक करोड ८ लाख, मकवानपुरगढी गाउँपालिकालाई ६ करोड २३ लाख, मनहरी गाउँपालिकालाई एक करोड २५ लाख र राक्सिराङ गाउँपालिकालाई २ करोड ८ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै समपुरकअनुदानतर्फ मकवानपुरमा ७ करोड ३५ लाख रुपैयाँ छुट्याइएकोमा थाहा नगरपालिकालाई एक करोड ६५ लाख, भीमफेदी गाउँपालिकालाई ४ करोड ८ लाख रुपैयाँ, मकवानपुरगढीलाई ९३ लाख रुपैयाँ, र राक्सिराङ गाउँपालिकालाई ६९ लाख रुपैयाँ छुट्याइएको छ । समानीकरण अनुदानतर्फ सुत्रको आधार, कार्यसम्पादन र न्यूनतम अनुदानका हिसाबले जिल्लाका सबै स्थानीय तहमा गरी कुल एक अर्ब ३३ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

समानीकरण अनुदानको रकमबाट स्थानीय तहले आवश्यकताअनुसार खर्च गर्न पाउनेछन् भने सशर्त, विशेष र समपुरक अनुदानको रकम तोकिएको कार्यविधिअनुसार तोकिएको समयमा योजना सम्पन्न हुन नसकेमा संघीय सरकारकै खातामा फिर्ता जाने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here