हेटौंडा– हेटौंडा–१८ मा रहेको ज्योति मावि, हर्नामाडीको आयोजनामा मंगलबार भर्चुअल (जुम) मार्फत लोक छन्दको प्रशिक्षण सम्पन्न भएको छ । गत हप्ताबाट हरेक हप्ताको मङ्गलबार आयोजना गर्ने गरी सुरु गरिएको साहित्यिक प्रशिक्षण अभियानअन्तर्गत मंगलबार लोक छन्दको प्रशिक्षण आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रशिक्षणमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् साहित्यिक अभियन्ता दीपक गौतमले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । प्रशिक्षक गौतमले लोक छन्दअन्तर्गत बालोरी, सेलो, सबाई, झ्याउरे छन्दअन्तर्गतका ७ किसिमका छन्दहरूको प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा ज्योति माविका प्रधानाध्यापक जयराम थापा, निवर्तमान प्रधानाध्यापक शरदकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, अङ्ग्रेजी विभागीय प्रमुख उमेश पराजुली, अनु रोक्कालगायत कक्षा १ देखि १२ सम्मका ११५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । विद्यार्थीमा पढाइका साथमा अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्य लेखन तथा पठन संस्कृतिको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जयराम थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here