चाडपर्व नेपाली समाजको खुसी, सद्भाव र पारिवारिक एकताको प्रतीक हो। दसैँको टीका, जमराको सुगन्ध, तिहारको झिलिमिली र आफन्तसँगको भेटघाटले हरेक नेपालीको मनमा नयाँ उमङ्ग भर्छ। तर, चाडपर्वको यो खुसी सबैका लागि समान हुँदैन । कसैका घरमा उत्सवको रौनक छाउँदा कसैका आँखामा पीडाका आँसु बगिरहेका हुन्छन् । कसैले नयाँ लुगा र मीठा परिकारको तयारी गरिरहेका बेला कसैले गुमेको घर, बिछोडिएको परिवार र अनिश्चित भविष्य सम्झेर दिन काटिरहेका हुन्छन् । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले प्रभावित परिवारका लागि यस वर्षको चाडपर्व यस्तै पीडा र निराशाको समय बनेको छ ।
२०८३ भदौ १० गते आएको बाढीले रसुवासहित भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । घर, बजार, सडक, पुल, भन्सार संरचना तथा जलविद्युत् आयोजनामा परेको क्षतिले जनजीवन र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ । बाढीका कारण परिवारहरू विस्थापित भएका छन् भने कतिपयले आफन्त गुमाउने र बेपत्ता भएका परिवारजनको प्रतीक्षा गर्ने असह्य पीडा भोगिरहेका छन् । नदीको उर्लंदो बहावले भौतिक संरचना मात्र होइन, मानिसका सपना, सम्भावना र भविष्यप्रतिको भरोसासमेत बगाएको छ । बाढीले कति घर बगायो, कति सडक भत्कायो र कति सम्पत्तिमा क्षति पुर्यायो भन्ने तथ्याङ्क संकलन गर्न सकिएला। तर, वर्षौँको मेहनतले बनाएको घर गुमाउँदाको पीडा, परिवारको जीविकोपार्जनको आधार भत्किँदाको चिन्ता र भोलि कसरी बाँच्ने भन्ने अन्योललाई कुनै तथ्याङ्कले पूर्ण रूपमा अभिव्यक्त गर्न सक्दैन। विपद्ले घरको छानो मात्र भत्काउँदैन, मानिसले भविष्यका लागि सजाएका सपनासमेत छिन्नभिन्न पार्छ ।
बाढी प्रभावित क्षेत्रमा राहत, सुरक्षित आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइको आवश्यकता अत्यन्त महत्त्वपूर्ण छ। विस्थापित परिवारलाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउनु तत्कालको आवश्यकता हो। तर, विपद्को असर यतिमै सीमित हुँदैन। परिवारको सदस्य गुमाएका, बेपत्ता आफन्तको प्रतीक्षामा रहेका र आफ्नो थातथलो छाड्न बाध्य भएका नागरिकलाई मानसिक तथा सामाजिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । विपद्पछिको पुनःस्थापना भौतिक संरचनाको निर्माणसँगै मानिसको मनमा आशा र भरोसा फर्काउने प्रक्रिया पनि हो। यस्तो अवस्थामा चाडपर्वको आगमनले पीडित परिवारको दुःखलाई झनै गहिरो बनाउँछ ।
दसैँमा परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका लगाउने, जमरा ग्रहण गर्ने, मीठो खाने र ठूलाबडाबाट आशीर्वाद लिने रहर कसलाई हुँदैन र? तर, जसको घर बाढीले बगाएको छ, जसको सम्पत्ति लेदोमा पुरिएको छ र जसको परिवार अझै अभावसँग जुधिरहेको छ, उसका लागि चाडपर्वको अर्थ नै बदलिएको हुन्छ। परिवारको सदस्य गुमाएको वा बेपत्ता आफन्तको प्रतीक्षामा रहेको व्यक्तिका लागि उत्सवको माहोलले खुसीभन्दा बढी रिक्तता र बिछोडको अनुभूति गराउन सक्छ। कसैका लागि दसैँ नयाँ लुगा किन्ने अवसर बन्छ, कसैका लागि पुरानै लुगाले जाडो कटाउने चिन्ता । कतै मीठा परिकार पाक्छन्, कतै बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने प्रश्नले सताउँछ। कतै तिहारका दियोले घर उज्यालो बनाउँछन्, कतै उजाडिएको घर र भत्किएको जीवन सम्हाल्ने संघर्ष चलिरहेको हुन्छ । यही असमान यथार्थबीच हामीले चाडपर्वको वास्तविक अर्थ खोज्नुपर्छ। आफ्नो घरमा दीप बाल्नु खुसी हो, तर अरूको अँध्यारो जीवनमा आशाको दीप बाल्नु मानवीयता हो ।
रसुवाको बाढीले राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि पनि प्रश्न उठाएको छ। विपद् आएपछि उद्धार र राहत गर्नु राज्यको दायित्व हो । तर, विपद् आउनुअघि जोखिम पहिचान गर्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने र नागरिकलाई सुरक्षित राख्ने तयारी गर्नु अझ महत्त्वपूर्ण हुन्छ । सरकारले तत्काल राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्छ । घर गुमाएका परिवारलाई सुरक्षित आवास, जीविकोपार्जन गुमाएकालाई आयआर्जनका अवसर र प्रभावित बालबालिकालाई शिक्षाको निरन्तरताको सुनिश्चितता आवश्यक छ । किसानले फेरि खेती गर्न पाउनुपर्छ, व्यवसायीले व्यवसाय पुनसञ्चालन गर्न सक्नुपर्छ र श्रम गरेर परिवार पाल्ने नागरिकले रोजगारीको अवसर पाउनुपर्छ । विपद् प्रभावित नागरिकले राहत वा पुनःस्थापनाको सहायता पाउन राजनीतिक पहुँच र भनसुन गर्नुपर्ने अवस्था आउनु हुँदैन । सहायता वास्तविक आवश्यकताका आधारमा पारदर्शी र निष्पक्ष ढङ्गले वितरण गरिनुपर्छ । राहत सामग्री वितरण गरेर मात्र राज्यको जिम्मेवारी पूरा हुँदैन। पीडित परिवार फेरि आफ्नै खुट्टामा उभिन सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ ।
यस अभियानमा समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। चाडपर्वमा हुने अनावश्यक तडकभडक र खर्चको केही हिस्सा विपद् प्रभावित परिवारको सहयोगमा लगाउन सकिन्छ। खाद्यान्न, न्यानो कपडा, औषधि, बालबालिकाका शैक्षिक सामग्री तथा सुरक्षित आवासका लागि सहयोग जुटाउन सकिन्छ । विद्यालय, सामाजिक संस्था, व्यावसायिक समूह र नागरिक समाजले समन्वय गरेर आवश्यकतामा आधारित सहयोग पुर्याउन सक्छन् । तर, सहयोग गर्दा पीडितको आत्मसम्मान, गोपनीयता र मानवीय गरिमालाई सम्मान गर्नुपर्छ । उनीहरूको दुःखलाई प्रचारको विषय बनाउनुको सट्टा सम्मानपूर्वक साथ दिनु नै सच्चा मानवीय सहयोग हो । त्यसैगरी, प्रभावित परिवारको वर्तमान अवस्था, राहतको प्रभावकारिता, पुनर्निर्माणको गति र सरकारी प्रतिबद्धताको कार्यान्वयनबारे निरन्तर निगरानी आवश्यक छ ।
विपद्का बेला केही दिन चर्चा हुने र त्यसपछि पीडितलाई बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्छ । घरबारविहीन परिवारले स्थायी आवास नपाउँदासम्म, जीविकोपार्जनको आधार पुनःस्थापित नहुँदासम्म र बालबालिकाले सुरक्षित वातावरणमा पढ्न नपाउँदासम्म राज्य तथा समाजको ध्यान निरन्तर रहनुपर्छ। चाडपर्वले हामीलाई आपसी सद्भाव, सहयोग र करुणाको सन्देश दिन्छन् । त्यसैले यस वर्षको उत्सवलाई विपद् प्रभावितको पीडा बुझ्ने अवसर बनाऔँ । आफ्नो परिवारसँग खुसी मनाउँदा घरबारविहीन परिवार सम्झौँ । मीठा परिकार खाँदा अभावमा रहेका नागरिकको अवस्था बुझौँ । तिहारको दियो बाल्दा अन्धकारमा संघर्ष गरिरहेका मानिसको जीवनमा आशा पुर्याउने प्रयास गरौँ। सहयोग ठूलो रकमबाट मात्र सुरु हुँदैन, कसैको दुःख सुनिदिनु, आवश्यक सामग्री जुटाइदिनु र कठिन समयमा साथ दिनु पनि उत्तिकै अर्थपूर्ण हुन्छ । रसुवाका बाढीपीडित परिवारलाई अहिले केवल सहानुभूति होइन, व्यवहारमा देखिने सहयोग, सुरक्षित भविष्य र राज्यको जिम्मेवार उपस्थिति आवश्यक छ । उनीहरूको पीडा केही दिनको समाचार बनेर हराउनु हुँदैन ।
बाढीले बगाएका संरचना पुनर्निर्माण गर्न सकिन्छ, बिग्रिएको जीविकोपार्जन पुनःस्थापित गर्न सकिन्छ र निराश मनमा आशा जगाउन सकिन्छ । तर, त्यसका लागि सरकारको दृढ इच्छाशक्ति, प्रशासनको जवाफदेहिता, नागरिक समाजको सक्रियता र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक छ । चाडपर्वको वास्तविक उज्यालो महँगा बत्ती, नयाँ लुगा र सजावटमा मात्र हुँदैन । त्यो उज्यालो अरूको पीडा बुझ्ने हृदयमा, दुःखमा परेकालाई थाम्ने हातमा र संकटमा परेका परिवारलाई पुन उठ्न सहयोग गर्ने व्यवहारमा हुन्छ। उत्सवको अर्थ आफू मात्र खुसी हुनु होइन, आफ्नो खुसीमा अरूलाई पनि सहभागी गराउनु हो । रसुवाका बाढीपीडितको जीवनमा आशा र खुसी फर्काउन सक्यौँ भने मात्र हाम्रो चाडपर्वले पूर्ण अर्थ पाउनेछ। चाडपर्वको खुसी सबैका लागि होस्, विपद्को पीडा कसैको एक्लो बोझ नबनोस् ।

