Search
Close this search box.

आमा :अपाङ्गता भएकाहरुकी भगवान

✍ सुजता गौतम

 याे संसारमा निस्वार्थ, निष्पक्ष, इमानदारी रुपमा माया गरिरहने व्यक्ति कोही छन् भने ती आमा  मात्रै हुन् । आमाले सधैंभरी आफू जस्तोसुकै  दुख, वेदना,व्यथा  सहि, आफ्नो सन्तानलाई उत्कृष्ट सेवा सुविधा, उचित वातावरण, स्याहारसुसार ,सुरक्षा आदि हरपल  दिलाउन खाेज्ने गर्छिन्।  आमा शब्द मानवमा मात्रै नभई जीवजन्तु, पशुपन्छीमा समेत प्रिय छ। आमा जीवनकाे ज्याेति , करुणा काे खानी अनि मायाकी सागर पनि हुन् । आमा जीवित भगवानकाे स्वरुप हुन्। भगवान सबै ठाउँमा हरेक पल पुग्न नसक्ने हुनाले नै आमाकाे सृष्टि गरेको हाेला सायद । 

शब्द फरक छन् भावना एउटै छ, आमा र भगवान काे महत्त्व एउटै छ ।  अपवाद बाहेकका आमा, संसारकाे लागि एक व्यक्ति हुन् तर सन्तानका लागि आमा संसार हुन् । सन्तानको लागि आमा संसारकै  सबैभन्दा राम्री, असल र सबै गुण सम्पन्न हुन्छिन् । आमाले आफ्नाे सन्तानलाई यति माया, प्रेम, स्याहारसुसार गर्छन् कि भन्ने शब्द छैन ।  आफुलाई भन्दा धेरै माया गर्ने व्यक्ति नै आमा हुन् । हरेक आमाले आफ्नाे सन्तान सबै कुरामा  सक्षम, ठुलो मान्छे  भए पनि जुनसुकै उमेरमा पनि आमाकाे माया निरन्तर उस्तै हुन्छ।  शिक्षा असफल हुन सक्छ तर आमाले आफ्नो सन्तानलाई दिएको  सत्कर्म र सस्कार कहिले पनि असफल हुनै सक्दैन । आफ्नाे सन्तानको प्रगति , उन्नति देखेर, आमा धेरै खुसि र सुखि हुन्छिन् ।

तर पूर्ण  अशक्त अपाङ्गता भएका व्यक्तिको  आमा सधैंभरी उस्तै दुख, पीडा, चिन्तामा हुन्छिन् ।  पूर्ण  अशक्त अपाङ्गता भएका सन्तानहरुले  मात्रै आमालाई गर्वमा रहे देखि नमरेसम्म उस्तै दुख निरन्तर  दिन्छन् । सबैका लागि यो वाक्य आफैमा पूर्ण छ या छैन थाहा छैन तर यो मेरो नीजि अनुभव पनि हो । पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति  आफू धेरै कष्टकर जीवन बाचेका हुन्छन् तर त्यो भन्दा बढि पीडा त आमालाई हुन्छ। उनीहरु हरेक किसिमको स्याहारसुसार , हरेक राेगकाे सङ्क्रमण, सदावहार बच्चा जस्तै  र राेगि हुन्छन् । आमाले थकाइ , बिरामी ,भाेक, निन्द्रा आदिकाे कहिले पनि प्रवाह गर्न समेत पाउदिनन् , सधैं सन्तानको लागि आफू जवान, बलियो बन्नु पर्छ।  कहिलेकाही आमा बिरामी , कमजोर , अशक्त हुदा फेरी सबैभन्दा बढि पूर्ण अशक्त अपाङ्ग भएका व्यक्तिहरुलाई धेरै गार्‍हो हुनेरहेछ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिकाे, परिवारको नै जीवनस्तर र गुणस्तर नै खस्किएको हुन्छ । पूरै परिवार नै शारीरिक ,आर्थिक, सामाजिक , मानसिक  दुख, पीडाकाे खाडलमा पर्छन् । सबै परिवारले नै समस्याको सामना गर्नुपर्छ।


अरुहरु संगैका बच्चा (एउटै उमेर समुहका) उनीहरुकाे वृद्धि बिकास ,उन्नति ,प्रगति  हेरी आमा सधैंभरी कल्पिन्छिन् कि आफ्नालाई मात्र किन सजायँ दिएकोल होला भनेर । हामी पूर्ण अशक्त अपाङ्ग भएका व्यक्तिहरुमा प्रायःजसो काे उमेर बढे सगै शारीरिक अवस्था कमजोर हुदै जान्छ, ( उमेर बढ्छ, बच्चा पन जस्तै हुन्छ , शारीरिक अवस्था घट्छ )। कतिपयलाई त केही जानकारी नहुनु, हरेक कुरा( आफ्नाे शरीर काे) चेतना नहुनु आदि हुन्छ। आमा सधैंभरी सन्तानको हरेक किसिमको चिन्ता मा रहन्छिन्। पूर्ण अशक्त अपाङ्गता भएका सन्तानलाई  हरेक प्रकारका हिंसा हुने सम्भावना रहन्छ  । सधैंभरी आमा चनाखो हुनुपर्छ, आमा घर बाहिर केही समयकाे लागि घास, दाउरा, मेलापात जानू परेमा काेठामा राखी बाहिर बाट ढाेका लगाई घरमा  थुनेर , मेरो सुरक्षाको लागि जानुहुन्छ । सबै कुरा( भाेक, तिर्खा, दिशा,पिसाब , सरसफाइ , मनकाे चाहाना आदि ) बुझ्न सक्ने र केही कुरा नबाेलेरै पनि सबै बुझिदिने,अनकुलता मिलाई समयमै गरिदिने  व्यक्ति आमा नै हुन्।  परिवारमा सबै सदस्यले सहयोग गरे ता पनि आमाले जस्तै हुदैन र जान्दैनन्  । मनमा त कति इच्छा , चाहाना,दुख लुकाएर देखावटी मुस्कान परिवार , समाजलाई देखाउछिन्, । हरेक प्रकारको विभेदको सामना आमाले नै गर्नुपर्छ।  आमाले आफू नखाई  भए पनि हामीलाई खुवाउछिन्, जस्तोसुकै पीडा दुखमा पनि सहयोग गर्ने  गर्छिन् ।  आमाको अनुहारमा कहिले पनि थकान र ममतामा मिसावट हुदैन ।


आमालाई तीर्थब्रत, मेलापात , सामाजिक , धार्मिक कार्यक्रममा सहभागी हुन जादा पनि सन्तानको बारेमा साेधेर नराम्रो कुरा नगरे पनि हुन्थ्यो लाग्छ रे, यदि उक्त सन्तान साथै लादा पनि नराम्रो साेच्ने, घृणा गर्ने , आमाको काेखलाई समेत दाेष  लाईन्छन् रे,  समाज बाट नै अपहेलित हुनुपर्दछ साेहि कारणले सामाजिक कार्यमा बिरलै सहभागी हुन्छिन् । पूर्ण अशक्त अपाङ्गता सन्तान भएको  आमाकाे खुसी हराउने गरेको पाईन्छ, घर छाेडेर माईत, मावला, आफन्तकाेमा समेत जान पाउदिनन् । यदि गहिहाले पनि एकछिनमा फर्किन्छिन्। सन्तानको  मायाले हरेक पल बाहिर हुदा घरमा नै ध्यान हुन्छ रे, भाेक, तिर्खा ,दिसा,पिसाब लाग्याे कि, न लडेर घाइते भई कि लाग्छ रे, आमा घरमा नफर्के सम्म साेहि अवस्थामा बसेका हुन्छन् । आमाले कहिले पनि एक सुरमा  ध्यान दिएर आफ्नो कुनै पनि काम गर्न पाउदैनन् । आमाहरुकाे लागि पूर्ण अशक्त अपाङ्ग सन्तान अभिषाप नै हाे म एउटी पूर्ण अशक्त अपाङ्गको नजरबाट नियाल्दा । भलै आमाले कहिल्यै यो देखाउदिनन् ।


सबै थाहा छ उनको पीडा तर के गरु , हेर्नु ,महशुस गरी मनमनै चिन्तित हुनुकाे बिकल्प पनि त छैन । यदि आमाकाे ठाउँमा अरु काेहि भए,आमाले जस्तै पुर्ण  अशक्त अपाङ्गता भएका व्यक्तिहरुकाे निरन्तर स्याहारसुसार , निस्वार्थ गर्नु पर्ने भए , हामीलाई  मारिदिन्थे हाेला । आमा हुनाले मात्रै आज सम्म हामी  जीवितै हुनपाएका छौँ । आफू दुखकाे सागरमा डुबेर पनि हामीलाई ओभानो बनाउने व्यक्ति आमा मात्रै हुन्। सधैंभरि सन्तानको लागि राम्रो साेच्ने, सन्तानको उज्यालो संसारकाे कामना गर्दै आफू सधैंभरि अँध्यारोमा रहन सक्ने व्यक्ति , जीवित भगवान  आमा नै हुन् ।

सबै मेरो अनुभव ,भाेगाई मात्रै भन्दै छु, बाहिरी कुरा मलाई केही जानकारी छैन । मेरो लेखाईमा कमि कमजोरी भएमा माफि चाहान्छु। वागमती प्रदेश नम्बर:- ३
मकवानपुर गढीगाउँपालिका वडा नम्बर:- २

(सुजाता गौतम जो पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति हुन् । चेतना शून्य नहुनु र विवेकले उस्तै पूर्ण रुपमा विवेकपूर्ण काम गरिरहदा पनि शारीरिक रुपमा अशक्तता भएपछि उनी निरन्तर कलमको माध्यमबाट बिचार प्रवाह गर्ने र समाजलाई सूचित गर्ने अभियन्ताकी रुपमा छिन् । अपाङ्गताप्रति शारीरिक, मानसिक र सामाजिक रुपमा व्यवहारिक सचेतताको खाँचो छ र सहयोगी हातहरुलाई अपिल पनि- सम्पादक)

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan