बालबालिकालाई पढ्ने कसरी बनाउने ?

‘आफ्ना बच्चालाई बुद्धिमान बनाउन चाहनुहुन्छ भने दन्त्यकथा पढ्न दिनुहोस् । यदि तपाईँ उनीहरूलाई धेरै नै बुद्धिमान बनाउन चाहनुहुन्छ भने चाहिँ अझ धेरै दन्त्यकथाहरू पढ्न दिनुहोस् ।’ – अल्बर्ट आइन्स्टाइन

मोबाइलको जमानामा किताब पढ्नु रुचिकर कुरा होइन । तपाईँ यस्तै सोच्नुहुन्छ । अझ तपाईँलाई के पनि लाग्न सक्छ, ‘किताब हातमा बोकेर हिंड्ने दिन त ठ्याक्कै सकिए ।’ वा ‘कसले पढ्छ आजको जमानामा किताब ?’ यही सोचाइले गर्दा हो, तपाईँका नानीबाबुका हातमा मोबाइल मात्रै भएको । तपाईँका नानीबाबुले किताब समाउन नखोजेको ।

‘किताब ?’ हो किताब । तपाईँ भन्नुहोला, पढ्छ त मेरो बच्चाले । बिहान बेलुका सधैँ किताब हेर्छ, गृहकार्य जहिल्यै पूरा गर्छ । किताब पुग्दो हेरेको छ त ! तर म चाहिँ तपाईँले भन्नुभएको ‘किताब’लाई किताब मान्दिनँ । ती पाठ्यपुस्तक हुन् । एउटा शैक्षिक सत्र पूरा भएपछि त्यसको म्याद गुज्रन्छ । माथिल्लो कक्षामा चढिसकेपछि त्यसको कुनै काम आउँदैन तपाईँका नानीबाबुलाई । ती पाठ्यपुस्तक यसकारण मात्र उनीहरूले पल्टाइरहेका छन् कि भोलि परीक्षामा त्यहाँबाट प्रश्न सोधिन्छ । त्यसको जवाफ नलेखेमा फेल भइन्छ ।

यदि परीक्षा दिनुनपर्ने हो भने तीमध्ये कुनचाहिँ विषयको पाठ्यपुस्तक तपाईँको नानीबाबुलाई प्रिय लाग्छ ? सोध्नुस् त, एउटा पनि छैन । किताब त त्यो हो जो रुचिकर हुन्छ । जसलाई पटकपटक पढिरहन मन लाग्छ । कुनै परीक्षामा नसोधिँदा पनि जसका पृष्ठपृष्ठमा भएका चाखलाग्दा कुराहरू स्मृतिमा रहिरहन्छन् । जुन पढ्न लाग्दा कहिल्यै परीक्षाको तनाव सोच्नुपर्दैन । हामीले यस्ता किताबसँग बालबालिकालाई साक्षात्कार गराउनै सकेका छैनौँ । अनि हामी भन्छौ, ‘बच्चाले किताबै पढ्न मन गर्दैन ।’

केही तीता अनुभवहरू तपाईँसमक्ष राखौँ । बालबालिकालाई पढ्ने बानीको विकास गराउन सहयोगी हुनसक्छ भनेर हामीले एउटा व्यापार मेलामा किताबको स्टल राखेका थियौँ । सोचेभन्दा उत्साहजनक रुपमा बालसाहित्यका पुस्तकमा बालबालिकाले ध्यान दिए । तर अभिभावकहरू मुस्किलले बालबालिकाको इच्छाअनुसारका किताब किनिदिन तयार भए । बरु दुईचार सय रुपैयाँका बेलुन किनिदिन अभिभावकहरूलाई कुनै संकोच भएन । अझ रोचक त के भने, आमाबुबासँगै मेला हेर्न आएका एकजना बालकले किताब किनिदिन आग्रह गर्दै स्टलतिर लम्किए । हतारहतार आमाले पाखुरा समातेर तान्दै भन्नुभयो, ‘घरमै छ त्यत्रो ‘पाठ्यपुस्तक’, किन चाहियो फेरि ?’ बुबाले त्यसमाथि थप्नुभयो, ‘जाँच आउन लागिसक्यो । स्कुलको किताब त पढ्दैनस् । अर्को किताब किनेर कहिले पढ्ने ?’

ती अभिभावहरू आम अभिभावकलाई प्रतिनिधित्व गर्दै हुनुहुन्थ्यो । जसलाई के लाग्छ भने पढ्ने कुरा भनेको खाली पाठ्यपुस्तक मात्र हुन् । तिनमा भएका कुरा मात्रै परीक्षामा सोधिन्छन् । त्यति जानेपछि बालबालिकालाई अरु केही जान्नै पर्दैन । उहाँहरूका लागि बालबालिकाले पढ्नु भनेको परीक्षाका लागि तयार हुनु मात्र हो । सफलता भनेको अरुका केटाकेटीलेभन्दा एक अंक भए पनि बढी ल्याएको मार्कसिट हातमा पर्नु हो । अनि तिनै अभिभावक प्रश्न गर्नुहुन्छ, ‘यत्रो भैसक्यो, अझै ढंगसँग बोल्न जानेको छैन !’

बालबालिकाले पाठ्यपुस्तकमात्र पढे पुग्ने अभिभावक र पाठ्यपुस्तक रटाउनुलाई मात्र शिक्षण मान्ने शिक्षक हुँदासम्म बालबालिकाको सर्वाङ्गीण विकास एकादेशको कथाजस्तै हुन्छ । पाठ्यपुस्तक त छानिएका पाठहरूको संगालो मात्र हो । पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य हासिल गर्नका लागि बालबालिकाले उस्तै प्रकृतिका सयौँ अरु पाठहरू पढ्नुपर्छ । यो कुरामा आम अभिभावक र शिक्षक आफैँ पनि सचेत नहुँदासम्म बालबालिकाले सही अर्थमा सिकाइ गर्न सक्दैनन् । उसोभए के केटाकेटीका लागि थरिथरिका किताबको चाङ लगाइदिएपछि चाहिँ सर्वाङ्गीण विकास हुन्छ त ? यो गम्भीर प्रश्न हो ।

किताबको चाङअगाडि बसेर मात्रै पढाइ हुँदैन । पढाइ नहुँदासम्म सिकाइ र उपलब्धी पनि त हुँदैन । बालबालिकालाई दिनहुँ फरकफरक विषयवस्तु पढ्ने, खोज्ने र सोध्ने बानीको विकास गराउनुपर्छ । यसका लागि सबैभन्दा जरुरी हो उर्जा । तपाईँले आफ्ना नानीबाबुका हातमा किताब राखिदिएर ‘ल पढ’ भन्दैमा बालबालिकाले पढ्नेवाला छैनन् । जसै तपाईँ आफ्नो काममा लाग्नुहुन्छ, नानीबाबु पनि आआफ्नो धन्धामा लाग्छन् । पढ्ने बानी नभएका बालबालिकालाई सुरुवाती चरणमा बानी लगाउन आमाबाबुले पनि पढ्नु जरुरी छ । कम्तिमा दैनिक साँझपख केही समय अभिभावकले पनि किताबसँग समय बिताउने हो भने बालबालिकालाई पनि त्यसले आकर्षित गर्छ ।

प्रत्येक बालबालिकाको मनोविज्ञान यसरी विकास भइरहेको हुन्छ कि उनीहरू आफूभन्दा ठूलाले गरेजस्तै गर्न चाहन्छन्, ठूलाले बोलेजस्तै बोल्न चाहन्छन् । आफूभन्दा ठूलाले गरेको काम चाहिँ सही हो भन्ने मानसिकता विकास भइरहेको हुन्छ । ‘त्यस्तै गर्न पाइयो भने म पनि ठूलो मान्छे हुन्छुु भन्ने सोचको विकास भइरहेको हुन्छ । अध्ययनहरूका अनुसार बालबालिकाले आफूले देखेसुनेका सबैको नक्कल गर्ने गरे पनि सबैभन्दा बढी ध्यान आमाबाबुको व्यवहारमा लगाइरहेका हुन्छन् । यसकारण पनि बालबालिकाको सबैभन्दा ठूलो रोल–मोडल भनेका आमाबाबु नै हुन् । यसर्थ आमाबाबुले गर्ने काम बालबालिकाका लागि उपयोगी हुनु जरुरी छ । यदि तपाईँ आफ्ना बालबालिकाले केही गरुन् भन्ने चाहनुहुन्छ भने त्यो काम उनीहरूले देख्ने गरी सबैभन्दा पहिले आमाबाबु आफैँले गर्नुपर्दछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष

मकवानपुरमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष

हेटौंडा - चाडपर्व नजिकिएसंगै विभिन्न आपराधिक घटनाहरु हुने गरेका छन् । पछिल्लो समयमा हेटौंडामा पनि लुटपाट, चोरीडकैती, ठगी, टिकट अभाव र भाडाबृद्धि तथा विभिन्न आपराधिक घटना र सवारी दुर्घटना हुने गरेका छ...