Search
Close this search box.

कक्षा –८ का विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा


हेटौंडा।हेटौंडा उपमहानगरमा शैक्षिक सत्र २०८१ को आधारभुत तह शिक्षा (कक्षा–८) का विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । हेटौंडा उपमहानगरपालिका आधारभुत तह परीक्षा समितिले २८ गते बसेको बैठकले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने निर्णय गरेको हो ।
शैक्षिक सत्र २०८१ को आधारभुत शिक्षा कक्षा ८ को चैत २७ गते प्रकाशित नतिजामा चित्त नबुझ्ने विद्यार्थीले सम्बन्धित निकायमा प्रतिविषय १ सय तिरेर बैशाख ३ गतेभित्र नतिजा ग्रेडवृद्धिका लागि पुनर्योगका लागि आवेदन दिनसक्ने र आवेदनउपर आवश्यक कारबाही सम्बन्धित विद्यालयले नै गरी सोको जानकारी शिक्षा विकास महाशाखालाई दिने निर्णय गरेको उल्लेख छ ।
शैक्षिक सत्र २०८१ को आधारभुत तह शिक्षा परीक्षाको कक्षा ८ को २७ गते प्रकाशित नतिजामा नन्‌गे्रडमा परेका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिन शिक्षा विकास महाशाखाले प्रश्नपत्रको व्यवस्थापन गरी परीक्षा सञ्चालन हुने दिन परीक्षा समयको एक घण्टाअघि इमेलमार्फत् विद्यालयलाई प्रश्न दिने र विद्यालयले प्रिन्ट गरी परीक्षा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
ग्रेडवृद्धि परीक्षाका लागि बैशाख ७ गतेभित्र सम्बन्धित विद्यार्थीले ग्रेडवृद्धि प्रतिविषय १ सय राजस्व तिरी सम्बन्धित विद्यालयमा आवेदन पेस गर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले बुझाएको राजस्वपत् रकम विद्यालयले एकमुष्ठरुपमा उपमहानगरपालिकाको राजस्व खातामा जम्मा गर्ने बैठकले निर्णय गरेको छ । परीक्षा बैशाख १० देखि १५ सम्म सञ्चालन हुनेछ ।
हेटौंडा उपमहानगरपालिकाले आधारभुत तह (कक्षा ८) को नतिजा प्रकाशन गरेको थियो । चैत ७ गतेदेखि १५ गतेसम्म सञ्चालित कक्षा–८ को परीक्षाको नतिजा सार्वजनिक भएको हो । उपमहानगरपालिका कार्यालयले बुधबार प्रकाशन गरेको नतिजाअनुसार परीक्षामा ४ हजार २९ जना उत्तीर्ण भएका छन् । ५ सय २३ जनाले ‘ए’ प्लस प्राप्त गरेका छन भने १ हजार ११ जनाले ‘ए’ प्राप्त गरेका छन् । ‘बी’ प्लस प्राप्त गर्ने १ हजार ९८ जना रहेको र ‘बी’ प्राप्त गर्ने ७ सय १६ जना रहेको जनाइएको छ । ० देखि १.६ जीपीए ५ सय ३७ जनाले प्राप्त गरेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan