कथाः डिकन आमा


सुनिल गौतम

तपाईंको धम्कीले के हुन्छ ? कानुनले घर चलाउने भए, आएर चलाईदिनोस् न आउनोस्, सक्नुहुन्छ ? त्यसोभए के गर्ने त ? समस्या मात्रै बनाएर हुन्छ ? समाधान केही निस्कनु पर्दैन? तपाईं नै भन्नोस् के हुन्छ त यसको निकास अब ?

म आफैले निकास दिनेभए यहाँ किन आउनु पर्थ्यो र ? फेरि मैले भनेको चाहिँ यहाँले मान्नुभएको छ र ? सिधै म उसको पक्षको मान्छे हूँ भन्न किन सक्नुहुन्न ? पैसा भए पैसा, नभए के ले किन्छन् यस्ता छडौलीहरुले तपाईं जस्ता मान्छेलाई मैले पनि बुझेको छु ।

तपाईले यहाँ बस्नु अघि गरेको हस्ताक्षर यहि बोल्नका लागि थियो ? के बोल्दै हुनुहुन्छ पनि थाहा छ यहाँलाई ? यी हेर्नाेस् त अनुशासन पालना गर्ने शर्तमा यहाँले गर्नुभएको हस्ताक्षर । हेर्नाेस् ! नमिल्नका लागि त धेरै कारणहरु हुन्छन्, तर मिल्नका लागि एउटै मात्र कारण पर्याप्त छ, त्यो हो हिम्मत, जुन तपाईमा अथाह छ, म त्यो देख्दै छु ।

यस्ता पाल्से भाषा सुनेको आज सम्म ३ पटक भैसक्यो । म बाट त एकपटक नजानेर गल्ति भयो नै । गधालाई नुहाएर गाई बनाउन खोज्ने मबाट दुस्साहस भएछ । आखिर गधालाई गधा र गाईलाई गाई भन्न पनि न्यायलयलाई प्रमाण चाहिन्छ ?? यो के तरिका हो यहाँहरुको ?

तपाईले स्वघोषणा गरेको गधा र गाई अरुले पनि किन त्यहि नै भनिदिनु पर्ने ? हामीले त संझाउने हो । यहाँहरुबीच नमिलेका बाझिएका कुराहरु छन् भने त्यो गाठो फूकाएर सहज बनाईदिने हो । आखिर हामीले जतिसुकै मिलाउन खोजेपनि मिल्नुपर्ने त यहाँहरु नै हुन्छ । मिल्नु भएन नै भनेपनि कानुनी बाटाहरु त छदै छन्, त्यो तरिका चाहिँ अलिक असहज हुनसक्छ । यहाँहरु मिलेर फर्कदा हाम्रो घर बस्ने वा बिग्रने केहिपनि होईन । यत्ति कुरा त मान्नुहुन्छ नी !

मेलमिलापकर्ता बोलिरहँदा आयूषी घोसे मुन्टो लगाएर बसीरहेकी थिई । उसलाई थाहा थियो – ऊ संझने र मिल्ने हालत मा नै थिएन । एउटै कुरा पचासौं पटक दोहोर्याईरहेको थियो । आयूषीले घरमै पनि धेरै पटक भनेकी थिई, आखिर त्यो हालत जान्दा जान्दै नै यो सबै भईसकेपछि अब त्यसबाट भाग्न खोज्नु हुदैन । पूराना कुराको पछि लागेर नयाँ बाटो भत्काउन खोज्दा न पूरानो बाटो नै बाटो रहन्छ न त नयाँ नै । फेरि सामुयलले पनि आयूषीलाई काँसीमा तीर्थ गर्न जाँदा भेटेको हो र ? त्यहि होटलमा त हो नी ।

सामुयल अर्थात् आयुषीको श्रीमान् । छोड्नको लागि कागजको खोस्टो नै किन चाहियो र ? यसैपनि वास्ता त नगर्नुभएकै छ । छोडपत्रको कागजले मान्छेको नियत बदल्ने पक्कै पनि हैन क्यारे – आयूषीको आवाज थियो ।

त्यसोभए के गर्छेस् त जाठ्ठी ? फेरि जान्छेस् उहीँ पूरानै धन्दा गर्न ? जान त जा नै भनेको छु, तर मलाई क्लिन चिट दिएर जा मूला । अब म तेरो अनुहार पनि हेर्न चाहन्न ।

हेर्नाेस् ! पछि पछुताउन पनि यहाँलाई समय हुने छैन ।जतिबेला घाम लाग्छ त्यतिबेलै सुकाउने हो बिस्कुन । पानी परिसकेपछि हिजो लागेको घाम संझिएर पछुताउनु सिवाय केही बाँकि रहन्न ।

तेरो आदर्शको भाषण तै संग राख । मलाई अब तेरो पूराण सुन्नु नै छैन । यदि त मसंग सन्तुष्ट थिईस भने म पनि खुशी हुन्थें । शारीरिक आवश्यकतालाई तैले जुन रुपमा खेलौना सोचिस् नी, भोक तीर्खा जस्तै यो पनि मानवीय आवश्यकता हो भन्ने बुझेकी भए आज मसंग तँ यस्तो उदास हुन्नथिस् ।

सामुयल र आयूषीको भनाभन चलिरहँदा मेलमिलापकर्ता सार्थकचाहिँ मूक दर्शक मात्रै बने । नितान्त पारिवारिक घटना भन्दा पनि यो उनिहरुको नीजि यौन जीवनको मामला थियो । यस्तोमा सार्थक जी ले केही बोल्न चाहेर पनि मिल्दैनथ्यो । महिला पनि जोडिएको हुनाले महिला मेलमिलापकर्ता चन्चला पनि थिईन् । तर उनको आवाज यतिबेलासम्म सुन्न पाईएको थिएन ।

यसपटक भने चन्चला बोलिन्– हैन सामुयल भाइ ! तपाईले कस्तो कुरा गर्नुभएको यो ? सन्सारमा सबै मान्छे, सबैसंग मिल्ने त कहीँ पनि हुदैन । कतै एउटाले त कतै अर्काेले कम्परमाईज गर्नै पर्ने हुन्छ । मेरो गोरुको बाह्रै टक्का भनेर हुन्छ ? आखिर यहाँहरुको आन्तरिक विषय हामीले मिलाउने भन्दा यहाँहरु नै पो मिल्न कोशिस गर्नुपर्छ त । कतिपय कुराहरु हामीले बोलेर भन्न नमिल्ने पनि हुन्छन् । त्यसैले तपाईहरु नै बढी सक्रिय हुनुपर्छ ।

हो । मैले पनि यहि भनेको हो । जब बोलेर त भन्न नमिल्ने कुरा यहाँ बीचमा हुन्छन् भने सहने कसरी ? नत्र त के, मैले मायाँ नगरेको थिए र ?

मायाँ पनि गरेको छु भन्ने, अनि छोडपत्र पनि दे भन्ने यो कस्तो प्रकारको माया हुन्छ ? यौन चाहना जीवनमा सधै उहीँ र उस्तै अवस्थामा रहन्छ भन्नू यहाँको भ्रम सिवाय केही पनि होईन । जस्तो कि एउटै भाँडोमा बनाईएको अचार पनि जिब्रो पिच्छे स्वाद फरक महशुस हुन्छ । सबैलाई उस्तै महशुस हुने स्वाद त पक्कै हुँदैन नै । कम्पमाईज नै गर्ने हो, बिकल्प हुन्न । यो तेस्रोपटकको मेलमिलाप हो । यसपछि तपाईहरु सिधै अदालत पुग्नुहुने छ । हतारमा निर्णय गरेर पछुताउने काम नगर्नाेस् ।

चन्चला बोलिरहँदा त्यहाँ मौनता छाएको थियो । बेला बेला सामुयल प्रतिप्रश्न तेर्स्याउँथ्यो । बाहेक सुनसान । यता आयूषी भने अतीतको गहिरो सोचमा डुबिरहेकी देखिन्थी ।

त्यो दिन, नानी, किन रोएको ? के भयो ? तिमी को संग आएको यहाँ ? तिम्रो घर यही नजीकै हो ? नारायणी नदी किनारको पुल पारी बसीरहेकी यौटी सानी केटिलाई – एउटी अधबैंसे महिलाको प्रश्न थियो ।

बाईबलको नयाँ करार पुस्तक राखिएको झोला भिरेकी एउटी महिला । संगै उनको श्रीमान जस्ता देखिने एउटा त्यस्तै अधबैंसे पुरुष । छेवैमा रोईरहेकि ती बालिका नजिक आएर उभिदै सोधेका थिए यो प्रश्न ।

यो प्रश्न सोध्दा झन् धेरै रोएकी थिई ऊ । – सायद यस्तो प्रश्न लिएर उ त्यहाँ छोडिएसंगै कोहिपनि आएको थिएन ।

तिम्रो ममीको नाम भन त नानी ! म बोलाईदिन्छु नि त । अधबैंसे महिलाको यस्तो प्रस्तावसंगै ऊ हतपत कोक्किदै बोली– नाम ? नाम त मेलो मामु हो ।

मामुको नाम नै मामु पो हो ? उम्, मेलो मामु । घर कहाँ नेर हो देखाउ त मायाँ !

धल ! धल त उ पल हो । धेलै पल थ । अनि तिम्रो मामु खै त ? देखाउ त । मामु त मलाई पापा तिनेल ल्याउतु, यहि बथ हत् भनेल दानुभातो थ ।

ती सानी बालिका जो अन्दाजी ४/५ वर्ष मात्रै हुँदी हो । ती अधबैंसे महिला र पुरुष, बालिकाको कुरा सुनेर धेरै दुखी भए । लगभग २ घण्टा कुरीसक्दा पनि नआएपछि अधवैशे पुरुषले लख काट्यो – अब पनि नआएपछी पक्कै यी बालिकालाई जानीबुझि छाडिएको हुनुपर्छ । नत्र त सामान्यतया यिनको शुरुको अवस्था हेर्दा पनि लगभग आधा १ घण्टा रोईसकेको अनुहार जस्तो लाग्थ्यो । अब हामी कुरेको पनि २ घण्टा भयो । यो बीच बाटोमा यसै त कसैले पनि यत्ति धेरै समय, यो उमेरको बच्चा छाडेर हिड्दैन ।

त्यसो भए हाम्रो पनि छोरी छैन । के भयो त यीनैलाई लिएर जाउँ र छोरी बनाउँ ।

यत्रो सन्सारमा अरु कसैले चासो नराखेको घटनामा हामी किन फस्नु ? कि पुलिस रिपोर्ट गर्नुपर्छ, यीनलाई चौकी लगेर बुझाउँ, नत्र यिनलाई केही किनेर खान दिउँ अनि आफ्नो बाटो लागौं, वा चर्च लगेर छाडौं ।

आखिर हामीले पाप गर्न थालेको हो र ? सडकमा छाडिएकी यति राम्री छोरीलाई लगेर घरमा राखौं । बरु कोही दावी गर्न आएभने कुरा गरेर मागौंला यीनलाई । दिएनन् भने उनिहरुकै हो लैजान्छन् । के भयो त ? मेरो छोरी पाउने चाहाना ……….????

यत्ति भनेर ती अधबैसे महिला रोकिएसंगै पुरुषको आवाज पूरै थामिएको थियो । कारण पछिल्लो आवाज हुनसक्छ । अर्थात्, मेरो छोरी पाउने चाहाना ……….????

उनिहरुले ती नानीलाई लैजान खोज्दा बालिकाले गर्ने प्रतिवाद त स्वभाविक पनि हुनसक्यो । बालिका जान मानिरहेकी थिईन । तिनलाई उनकी ममी आईपुग्ने आशा अझै मरेकै थिएन ।

ती अधबैंसे पुरुष र महिलाले बालिकालाई निकैबेर संझाएर उनको ममी भेटाईदिने बाचा गरेपछि बल्ल ति बालिका उनिहरुसंग जान सहमत भएकी थिई ।

तिम्रो नाम थाहा छ तिमीलाई ? भन त नानू । अधबैसे महिलाले सोध्नासाथ रुन्चे स्वरमा बोलीन् ती बालिका – मायुती,

ती बालिकाको तोते आवाजले के भन्न खोजेको हो बुझिएन ।
मानसी, मारुति, आरुषी, आयुसी, आदि के हो थाहा भएन । अधबैसे महिलाले भनिन् यिनको नाम आयुषी राखौं ।

तिमीलाई आयूसी भनेर बोलाउने ल अबदेखि सबैले । यसो भन्दै गर्दा उनिहरुले ती बालिकालाई छेउको पसलबाट फ्रुटी जुस किनिदिई सकेका थिए ।

जुसको धुनमा लागेर होला आयूषीले स्वीकृति वा असहमती केहिपनि जनाईन । बालिका टोहालिँदै गर्दा ती अधबैंशे श्रीमान श्रीमतीका बीचमा निकैबेर भनाभान जस्तै दोहोरी पनि चल्यो । अधबैंशेले भोली कानुनी अप्ठ्याराहरु पनि देखायो । तर महिला मानिनन् । रुँदै गरेकी बालिका, छाडिएकै भएपनि त्यो प्रहरीकोमा पुग्नु कानुनी उपाय थियो । तर महिलाले प्रतिवाद गर्दै गर्दा पनि अधबैशे पुरुषले जब ती बालिकालाई त्यहि छाड्ने वा प्रहरीको जिम्मा लगाउने कुरा सोच्यो, तब एकाएक उसको पनि दिमागमा एउटा गहिरो चिन्ताले हल्लायो– आजसम्म यसरी सडकमा छाडिएका वा विभिन्न तरिकाले एक्लिएका बालबालिका सडकमा आईपुग्छन्, ती सबै कहाँ छन् ?? के परिवारको जिम्मा लगाईयो सबैलाई ? के सरकारले सञ्चालन गरेको बालगृहमा पुर्याईयो ? वा ब्यक्तिले लगे ? वा गैरसरकारी तवरबाट खुलेका बालगृहलाई बुझाईयो ? के सबै कानुनी तरिकाले सुरक्षित छन् ? कि कसैको रोजीरोटीको स्रोत बनेका छन् ती अनाथहरु ?? यी बालिकालाई यत्तिका समय यीनको उमेरका आधारमा पनि एक्लै सडकमा छाड्न हुने होईन । लवाई हेर्दा र बोलिचालि सुन्दा पनि राम्रै घरकी बालिकाजस्तो लाग्थ्यो । केहि बिपद् परेर छाडिएकी हुन भने भोलि वा कुनै दिन मिडियामा खबर त आई नै हाल्ने छ । त्यसपछि बुझाउँला बरु सम्वन्धित ब्यक्तिलाई । तर अहिले कानुन मिचिएकै ठहरिए ठहरियोस् तर नानीलाई घर लैजानु नै उपयुक्त हुन्छ । यहि ठाने र अधबैंशेले ती बालिका घर लैजाने मनस्थिती बनाए । उनिहरुले आयूषीलाई बीचमा राखेर एउटा फोटो खिचे । जस्तो अवस्थामा भेटिएकी थिईन त्यस्तै अवस्थामा । किनकी यो फोटो उसको जीवनकै अभिन्न याद हुने थियो । अनि लागे घरतिर

आज आएर आयुसीका मानसपटलमा धमिला ती दिनका तस्वीरहरु यसरी छरपष्ट हुन्छ कि मानौ उ सन्सारमा आउनै नपर्ने पात्र आएकी छे । ल्याउनेले पनि ल्याउनै नचाहेर ल्याएको पात्र हो भने जोडिएका मसिना तारहरुबाट यो सन्सारमा उसको अस्तित्व कतिदिनसम्म सुरक्षित रहन्छ र ?

उसलाई अझै पुनराबृत्ति हुँदै जान्छ ती दिनहरु – सन्तान नभएपनि आफ्नो पुर्ख्यौली ले ठीकै तरिकाले जीवन गुजारा गर्ने परिवार रहेछ ती अधबैंशे ब्यक्तिहरुको । वरिपरिका सबैले अधबैंशेलाई डिकन बा र उनकी श्रीमतीलाई डिकन आमा भन्थे । डिकन उनिहरुको कुनै सन्तान नभई उनिहरुले मान्ने इसाई धर्मको पाष्टर, ईल्डर भन्दा तल्लो उपाधीका धर्मगुरुहरुको पद थियो ।

आफ्नै घरमा राखिएको एउटा होटल उनिहरुको ब्यवसाय थियो । काम गर्ने मान्छे नराखेका । आफैंले गर्नसक्ने सम्मका मात्रै खानेकुराहरु राखिएको थियो । ग्राहकहरु नयाँ थिएनन् । उही पूराना मान्छेहरु जो आफूले नियमित खानेगरेका परिकारहरु खान्थे । प्रायः उनिहरुले खाने परिमाण पनि उति नै हुन्थ्यो । नयाँ खानेकुरा उनिहरुको चाहना थियो भने पनि बन्दैनथ्यो । नबनेपछि अर्डर गर्नुको पनि तुक थिएन ।

इसाई हुनुको नाताले त्यो उनिहरुले गर्नहुने पेसा थिएन । झुठो नबोल्नु र सत्यको पक्षमा हिड्नु, मानव लगायत आत्माहरुको सम्मान गर्नु उनिहरुको पहिलो सर्त थियो । मदिराजन्य पदार्थ र लागू औषधहरुपनि त्यसैगरी धर्मका आधारमा वर्जित थियो । तर उनिहरुले त्यो पेसा छाडेर अरु कुनै रोज्नु पनि संभव कुरा थिएन । कारण, उनिहरु पहिले इसाई थिएनन् । डिकन आमा धेरै विरामी परिरहने भएपछि केही पाष्टरहरु ले आएर घरैमा प्रार्थना गरे । उनलाई बिस्तारै सन्चो हुँदै गएको महशुस भयो । उनिहरु भन्थे वाइबलमा प्रष्ट लेखिएको छ कि–

प्रभू यशु परमेश्वरले हाम्रो हात लिईदिनुहुनेछ । किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् । यसर्थ कि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्धारा बाँचोस् भनेर पठाउनुभयो । जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ , किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेकौ छैन ।

बिस्तारै ती अधवैशेका श्रीमान श्रीमती क्रिश्चियन बनेका थिए । यसो हुनुअघि नै उनिहरुको त्यहि होटल ब्यवसाय थियो ।एकातिर सन्तान नहुनुको पीडा थियो । अर्काेतिर श्रीमती धेरैजसो बिरामी परिरहने भएपछि त्यो बाटो नै सहज बन्यो । लाग्छ सन्सारमा मान्छे कुनै अप्ठेरोमा नपरी भगवान वा परमेश्वरको नाम उच्चारण गर्दैन । उनी बिस्तारै सन्चो भएको महशुसले उनिहरुलाई धर्मप्रति झन् आस्थावान बनाएको थियो । डिकन बा प्रायः आयूषीलाई घर ल्याएदेखि समाचारपत्रहरु हेरिरहन्थे । सँधैंजसो रेडियो उनको पसल काउन्टरमा नबिराई बज्न शुरु भयो । कारण आयूषी माथि कसैले दावी गरिरहेको छ वा हराएको सूचना आई पो हाल्छ कि ? तर त्यस्तो सूचना कहिल्यै पनि आएन ।

दिन,महिना, वर्ष गर्दै समयले कोल्टे फर्दै गयो । आयूषीलाई डिकन बाले आफ्नै सन्तान झै गरेर स्कुल भर्ना गरिदिएका थिए । उसले खै किन हो अक्षर चिन्न र लेख्न नै सकिन । पछि बोर्डिङ भर्ना गरिदिए । प्राय घर फर्कँदा उ रुँदै आउथी । डिकनआमा आयूषीका आँखामा आँसु देख्न सक्दिनथिन् । कतिपटक त उनी स्कुलको प्रिन्सिपल संग झगडा गर्न पनि पुगिन् । जेनातेना आयूषीले कक्षा ७ सम्म पास गरि । खासै राम्रो अंक पनि आउँदैनथ्यो । सामान्य लेखपढ र हिसाब राख्नेसम्म भई । कक्षा ८ को जिल्लास्तरिय परीक्षा २ पटक दिँदा पनि पास नभएपछि उसमा पढ्ने रहर पुगिसकेको थियो । डिकन बा र आमाले पनि पढ्न नछोड्न भनेपनि त्यसपछि खासै जिद्दी गरेनन् । अब उसले आफ्नो ब्यवसायतिर धेरै ध्यान पुर्याउन थालेकी थिई ।

समयले संधै उस्तै र उही स्वरुपमा कसैलाई पनि नछाड्दो रहेछ । डिकन आमा विस्तारै काम गर्न नसक्ने हुँदै गएकी थिईन् । उमेर त खासै उस्तो बुढ्यौलीले छोएको पनि होईन् । तर खै के अदृष्य तत्वले उनलाई भित्र भित्रै खाँदै लगेको थियो । अब त आयूषी पनि काम गर्न सक्ने बनकी थिई । उसलाई आफ्नो विगतले बेला बेला नराम्ररी सताउँथ्यो । उसको आफ्नो भन्नू नै यो सन्सारमा तिनै डिकन बा र आमा बाहेक कोही थिएनन् । प्रत्येक शनिबार डिकन बा र आमा संगै चर्च जानू उसको नियमितता भएपनि अब डिकन आमा चर्चमा नियमितता जस्तो गरेर जान सक्दिनथिन् । उनलाई उभिएर हिड्न गाह्रो हुन्थ्यो । डिकन बा पनि पहिले पहिले त जसरी तसरी डिकन आमा अनि आयूसीलाई लिएर चर्च जान्थे । तर पछि डिकन आमाको अवस्था पहिलेजस्तो नरहेपछि आयुसीलाई आमाको हेरचाह गर्न र होटल चलाउन छाडिदिएर एक्लै पनि चर्च जान थाले । तर यो अवस्था धेरै लामो समय टिकेन । आयूसी जब आफ्नो अतीतका धमिला यादहरुबाट बिच्छिप्त हुन्थी, त्यतिबेला उसलाई लाग्थ्यो कि अब सन्सारमा डिकन आमा र बा पनि रहेनन् भने के होला ? उ कसका लागि र किन बाँचिदिनु पर्ने? जन्म दिने आमा पनि त निर्दयी थिईन् नी ।

उसको तोते आवाजमा उ कहिलेकाहि सोध्थी मामु ! बाबा भनेतो ते हो ?

बाबा भनेको, बाबा हो । नानूको बाबा विदेशमा होईसिन्छ । भोलिपर्सि नानुलाई धेरै खानेकुरा लिएर आउने हस् ।

उसले जन्मिएर चिन्ने हुँदा आफ्नो बाबा पनि देख्न पाईन । उसकी मामु र ऊ एउटा कोठा भाडामा लिएर बसेका थिए । अहिले आएर लाग्छ कि त्यो उसको घर हैन कोठा रहेछ । आफूलाई किन जन्म दिने आमाले नै त्यसरी छाडेर हिडिन् होला ? के त्यहि नारायणी नदीको गहिरो भागमा फालिदिएको भए हुन्नथ्यो र उसलाई ? त्यसरी छाड्नु र नदीमा फालिदिनुबीच के भिन्नता रहन्थ्यो र ? यदि डिकन बा र आमा त्यहाँ आईपुगेर आयुषीलाई नलगेको भए आज उ कहाँ र के गर्दै हुन्थी होली ?

जब उ थला परेकी डिकन आमाको अनुहारमा हेर्थी, तब बर्रर आँसु आउँथ्यो । उसकी आमा । तिनै डिकन आमा त थिईन अब । डिकन बा पनि कमजोर देखिन थालेका थिए । होटलको सारा काम आयूषी र उनले मात्रै भ्याउनु पर्थ्यो । उता आयुषीलाई डिकन आमाको स्याहार सुसारको काम अलग्गै थियो । होटलमा आउनेहरुको चाप बिस्तारै बढ्दै जानू र यता घरको कामको चाप पनि थपिनुले अब त्यो सबै काम उनिहरुको क्षमता भन्दा बाहिर जाँदै थियो ।

डिकन आमालाई अब पादरीहरुको प्रार्थनाले मात्र काम गर्न छाड्यो । पहिले पनि डिकन बाले अस्पताल त लगेका हुन् । तर एलोपेथिक औषधी मुखमा पर्नासाथ उनलाई झन बढी भएर चाप्थ्यो । अब अहिले आएर स्थिति हेर्दा प्रार्थनाको मात्र भर गर्ने अवस्था रहेन । होटल केही दिनका लागि बन्द गरेर उनिहरुले डिकन आमालाई अस्पताल लगे ।

सबै जाँचको नतिजापछि थाहा भयो डिकन आमालाई ल्यूकेमिया र यूरिक एसिड दुबै भएको रहेछ । ल्यूकेमिया अर्थात् ब्लड क्यान्सर ।

आयुषी र डिकन बा धेरै बेर संगै बसेर रोए । उनिहरुको यो सन्सारमा एक अर्का बाहेक कोही थिएनन् । सबै जोडिएका नाताहरु । डिकन आमा र बा पनि जोडिएका नाता नै थिए । आखिर रगतले पनि त के गर्दाे रहेछ र आयूषी आफ्नै रगतबाट छोडिएकी नै हो, यता डिकन आमाको आफ्नै शरीरमा भएको रगत पनि क्यान्सरले साथ छुटाउन लागेकै हो । तर आशा मरेको थिएन । सन्सारमा क्यान्सरबाट पनि धेरै जनाले उन्मुुक्ति त पाएकै छन् । परमेश्वरको चाहनाले जे गराउँछ त्यो नै सत्य हो । वहाले रक्षा गर्नुहुन्छ । यहि भरोषा बाहेक केही रहेन ।

डक्टरहरु भन्दै थिए– तपाईको बिरामीलाई ल्यूकोसाइटोसिस भएको छ । यो भनेको श्वेत रक्तकोशको अधिक मात्रामा बृद्धी हुनु हो । ल्यूकोपेनिया भन्दा यो ज्यादा खतरा मानिन्छ । किनकी यसलेअधिक मात्रामा अपरिपक्व श्वेत रक्तकोशहरु निर्माण गर्दछ र ब्लड क्यान्सर गराउँछ । अहिले उहालाई त्यहि भएको स्थिति हो । वहालाई पहिला नर्मल अवस्थामा ल्याउन ड्रग थेरापी गर्नुपर्ने हुन्छ । यो प्रक्रिया लामो पनि छ । बाँकि रह्यो प्रतिरक्षा शक्ति कमजोर हुनाले देखिएका हरेक रोगको लक्षण अनुसारको उपचार । उमेर र अवस्था अनुसार वहाको उपचारको सम्भावना त्यस्तै १०÷ १५ प्रतिशत भन्दा माथि छैन । अन्यथा हाम्रो केही लाग्दैन – डक्टरहरुको सुझाव संगै उनिहरुमा रहेको अलिकता आशा पनि अब खरानी प्रायः बन्दै गयो ।

सञ्चित भएको सबै पैसा डिकन आमाको उपचार खर्चमा सकियो । अब उनिहरुसंग आफू बसेको एउटा घर र त्यसैको अघिल्तिर होटल गरेरको अर्काे घर बाहेक चल सम्पत्ति केही बाँकी रहेन । बिस्तारै त्यो घर पनि बेच्नुपर्याे । डिकन आमा उँभो पनि लागिनन् र प्राण त्याग पनि भएन । झण्डै ८÷९ महिनाको अस्पताल बसाई अघि सबै सम्पत्ति सकियो । अब त्यहि एउटा होटल बाँकी थियो । त्यो पनि त्यहि होटलमा दैनिक आउने एकजना ग्राहक उनेलै केही महिना म चलाउँछु होटल भनेर डिकन आमाको उपचार चल्दै गर्दाको १÷२ महिना पछि लिएका थिए । अब त्यहि होटल बेच्नुको बिकल्प थिएन ।

समयका प्रहारहरुले पनि यहाँ त निर्धाेलाई मात्र छान्दो रहेछ । आयूषी जसले जन्मिएर यहासम्म जानेर कुनै गल्ति गरेकी थिईन । तर एकपछि अर्काे गर्दै बज्रपातका श्रृंखाला उसैमाथि नै थपिदै थियो । डार्विनले भनेका थिए, सरभाईवल अफ दि फिटेष्ट । तर किन कसैलाई सर्भाइभ हुनको निम्ति यतिसम्म कठीनाई भोग्नुपर्ने र कसैलाई चाहिँ नपर्ने ? जवाफ छ यो विज्ञान संग ?

अन्त्यमा डिकन बाले होटल बेचे । तीनै आफ्ना ग्राहक जो डिकन आमाको उपचार शुरु भएदेखि त्यहि होटल चलाउदै थिए । होटल बेच्नुअघि एउटा शर्त थियो कि आयूषी र डिकन बा अर्काे कुनै ब्यवस्था नभएसम्मका लागि त्यहि होटलमा बस्न पाउनुपर्ने । उनको पूरानै ग्राहकले किनेको हुनाले यो शर्तमा उसले कुनै प्रतिवाद गरेन । हुन त त्यहा बस्न नै पो किन पर्ने थियो र हस्पिटलकै बास थियो डिकन आमाका कारण ।

डिकन आमाले होस छाडेको तीन दिन भईसकेको थियो । दिशा, पिसाव पनि डायपर र पाईप मार्फत गराईएको थियो । तेस्रो दिन बिहान सिस्टर आत्तिएर चिच्याएपछि थाहा भयो कि डिकन आमाले सन्सार छाडेकी थिईन् ।

केही दिन अघि मात्रै उनले होस गुमाउनु अघि आयूषीलाई भनेकी थिईन्– छोरी बालाई राम्रोसंग पाल्नू है ।

यति बोलेपछि बर्रर आँसु खसालेकी डिकन आमालाई नरुनु न आमा भन्दै गर्दा आयूषीको आँसु डिकन आमाको गालाभरी चुहिदै सन्तानोस्पर्स गरेको थियो । अहिले आयूषी आमाका तिनै वचनलाई संझिएर बा को अनुहार हेरिरहेकी थिई । डिकन बा पुरुष कठोरपनलाई पनि जोगाउन नसकेर होला बर्रर आँसु खसालीरहेका थिए ।

आमाको अन्त्येष्ठी सकियो । चर्चका सबैजसो मान्छेहरु आए र आफ्नो संस्कार अनुसार डिकन आमालाई अन्तिम श्रद्धाञ्जली दिए ।

समयले अब डिकन बा र आयूषीलाई सडकमा ल्याएको थियो । यद्यपि बस्नको लागि उनिहरुकै पूरानो होटल त छदै थियो । आयूषी त्यहि होटलमा काम गर्थी । त्यसबाट डिकन बा अनि उसको खाना जोहो भएको थियो । वा पूरानै शर्त अनुसार हुनुपर्छ होटलवालाले केही भनेको पनि थिएन ।

होटल नया ब्यक्तिले चलाएपछि नयाँ ढङ्गले सञ्चालन भएको थियो । क्याविन लगायत डेकुरेशन फेरिएको थियो । तर डिकन बा अब पहिलेजस्तो डिकन बा नै रहेनन् । कमजोर शरीर । हर समय डिकन आमाको यादमा रक्सीको साहाराले जीउन थाले । चर्च जान त आमा बिमार भएदेखि नै छुटिसकेको थियो । पछि फर्किएर आएपछि पनि चर्च गएनन् । बरु रक्सी उनको एउटा जीउने आदत नै बन्न पुग्यो ।

डिकन बा रक्सीको मातका तालमा बर्बराउन थाले । केही समयपछि उनी आफ्नै शुरमा हिड्ने र होटल फर्किएर पनि २÷३ दिनसम्म नआउन थाले । फर्किएर आउँदा कपडा धुलाम्य हुन्थ्यो । कहाँ जान्थे, कहाँ बस्थे र के गर्थे पत्तो हुन्नथ्यो । आयूषी कतिपटक त बालाई खोज्न पनि निस्किएकी हो । तर नभेटेपछि निरास भएर फर्कन्थी ।

होटलमा अचेल मान्छेको चाप बढ्न थालेको थियो । अनौठा अनौठा मान्छेहरु आउन थालेका थिए । आयूषीलाई मानौ अब समयले त्यहाँ काम गर्न राखिएकी केटी जस्तो भूमिकामा पुर्यायो । यस्तैमा एकदिन साहुले आयूषीलाई अह्रयायो ।

आयूषी भित्र क्याविनमा जाउ त । टेबुल सफा गरिदेउ । २ जना दाइहरु आउनुभएको छ । आज तिमीले यता काम गर्न आउनु पर्दैन । भित्र वहाहरुलाई के चाहिन्छ त्यतै केयर गरेर बस ।

आयूषीलाई अनौठो त लाग्यो नै । तर यसअघि त्यस्तो कहिल्यै केही नभनेको हुनाले लाग्यो विशेष मान्छेहरु होलान् । तर यसरी केयर नै गर्नुपर्ने भए त शुरुमै पठाउनुपर्ने । उनिहरुले झण्डै ३÷३ वटा वियर खाईसकेका छन् । साहु भित्र गएर आएपछि केयर गर्नु भनेर पठाएको अलिक अनौठो लागेपनि आयूषी सहज बनेर भित्र छिरी ।

भित्र छिरेपछि उसलाई थाहा भयो कि उसलाई होटलवालाले धन्दा गराउन उनिहरुसंग पैसा लिएको रहेछ । २ जना साथीजस्ता देखिने मध्ये एउटा अलिक चुच्चो नाक हुनेचाहि ज्यादा आक्रामक थियो । उसले जवर्जस्ती गर्न खोजेपछि आयूषी चिच्याउन र त्यो पञ्जाबाट फूत्कन खोजि । तर नसकेपछि रुँदै बिन्ति बिसाउन थाली । अर्काे त्यो चुच्चे नाकवाला भन्दा केही होचो ब्यक्ति जो हेर्दा अलिक समझदार देखिन्थ्यो । आयूषिले उसको हात समाउँदै बिन्ति गरेर आफ्ना सारा अतीतहरु सुनाई ।

त्यो होचे ब्यक्तिलाई आयूषीका कुराले केही छोएछ क्यार । सबै कुरा सुनेपछि उसले पनि आँसु खसाल्यो । अर्काेचाहि कसैको कथा सुन्न आएको हो र यहाँ ? काम तमाम गरौं र निस्कौं भनेर बम्कँदै थियो । होचोवालाले रक्सीको तालमा हो वा मनदेदि नै बोल्यो– म तिमीसंग बिहे गर्छु, तिमी तयार छौ ?

उसको जवाफमा आयूषीले भनेकी थिई – तपाईं अहिले रक्सीको तालमा हुनुहुन्छ, त्यसैले यो कुरा छाडिदिनोस् । म मेरो बालाई एक्लै छाडेर

कहिपनि जान सक्दिन । तर उसलाई त्यहाँबाट फूत्कनु भएर पनि होला भोली होशमा आउनोस् अनि कुरा गरौंला मात्रै भनी । उ अहिले नै उसंग जान आयूषीलाई जिद्दी गर्दै थियो । तर आयूषीले भोली आउन भनेपछि चुप लाग्यो ।

त्यो रातभरी आयूषीका मानसपटलमा अनेकौं कुराहरु खेले । उसले डिकन बालाई आज होटलमा भएका सारा कुरा बताउन पनि सकिन । किनकी उसले यो बताउने बित्तिकै भोलिदेखि डिकनबाको बस्ने ठाउँ थिएन । न त उ नै तत्काल केही ब्यवस्था गर्न सक्थी । उसले रक्सीको तालमा बोलेका कुरा साँच्चै सत्य भएर भोलि बिहेका लागि आयो भने ?? के उसका मनमा म प्रति एउटा पेशेवर केटीका रुपमा परेको छाप मेटिएला ? उ त्यो नहुँदा नहुँदै पनि उसको नजरमा उ देखिएकी त त्यहि नै थिई । के डिकन बाको यस्तो हालतमा उनलाई छाडेर उ त्यसरी कसैसंग जान सक्छे ? नगएर बसौं चाहिँ कहाँ ?

त्यहि होटलमा ? के अब उ होटलवालाको यौनकर्मी भएर बस्ने ? चुनौती अनि प्रश्नै प्रश्नको हज्जारौं जालोभित्र रुमल्लिदा रुमल्लिदै आयूषीका आँखा कतिबेला लागेछन् पत्तो पाईन । यसैपनि होटलका ती जुठा भाडाँहरु माझ्दा माझ्दै सुत्नेबेला रातको साढे एघार बजिसकेको थियो ।
भोलिको बिहानले पनि आयूषीका लागि कुनै कायापलट लिएर आएन । नभन्दै त्यो होचे ब्यक्ति होटल आईपुगेको थियो । उसलाई देख्नासाथ होटलवालाले हँसिलो अनुहार पार्दै भन्यो – ओहो सामुयल भाइ ! के हो आज त बिहान बिहानै ?

सामुयल रहेछ त्यो ब्यक्तिको नाम । आयूसीले पनि सुनी ।

म यहाँहरुसंग एउटा कुरा भन्न आएको । डिकन बा पनि यही हुनुहुँदो रहेछ । राम्रै भयो । म आयूषीसंग बिहे गर्न चाहन्छु ।

मानौ उसका कुरा सुन्दा लाग्थ्यो उ खसी बाख्रा किन्न आएको हो । सामुयलका कुरा सुन्नासाथ होटलवालाले जीब्रो तान्दै भन्यो – हैन सामुयल बाबू ! हिजैकोले छाडेको छैन कि क्या हो ? होसमा त हुनुहुन्छ ?

त्यस्तो हैन साहुजी । म होसमा नै बोल्दै छु । कोहिपनि मान्छे धन र पैसाले मात्र ठूलो हुने होईन । मैले आयूषीका सबै कुराहरु हिजो सुनें । उनको बिचार, उनको विगतको सबै पीडा आदिबाट मलाई लाग्यो कि मैले उनिलाई बिहे गर्नुपर्छ । यौन त हाम्रो समाजको एउटा साघूँरो मष्तिष्कको उपज मात्रै हो । यसलाई खुल्ला रुपमा बुझ्दा म यसमा संकुचित छैन । यस्तै यस्तै कुराहरु सामुयलले धेरैबेर भनेपछि आयूषीले डिकन बा लाई छाडेर बिहे नगर्ने कुरा गरि । होटलवालाले धेरै संझायो – डिकन बा हाम्रा पनि बा हुन । उनको चिन्ता नलेउ हामी छौं ।

डिकन बा ले पनि भने – छोरी तिमिलाई सबै कुरा थाहा छदैं छ वहाँ अहिले तिमिसंग बिहे गर्न खोज्दै हुनुहुन्छ । म संस्कार अनुसार बिहे गरेर दिन पनि सक्दिन । अवस्था तिमिलाई थाहा छदै छ । त्यसैले नाई नभन ।

सबैको एकै मुख भएपछि आयूषीले त्यो होटलवालाको दोहोरो भूमिकाबाट पनि मुक्त हुन र डिकन बालाई अर्काे स्थायी ब्यवस्था गर्न यो एउटा समाधान हुने देखि ।

त्यहि दिन सामुयल र आयूषीको चर्चमा बिहे भयो । केही महिना सम्म त उनिहरुको जोडि सन्सारकै नमूना जोडि थियो । आयूषीका भाग्यमा खुशी लामो समय लेखिएकै थिएन । ८÷१० महिना पछि शुरु भयो फेरि अर्काे एउटा दुखान्त श्रृंखला । सामुयलले भन्थ्यो – तँ होटलकी बेश्या मलाई किन सन्तुष्टि दिन सक्छेस् त । तलाई म जस्तो भएर नै हुँदैन । नत्र किन तँ जहिले पनि यौन जीवनमा यति निरास छेस् ? बारम्बार यहि प्रश्नले टोकस्थ्यो उ आयूषीलाई । आयूषी केही बोल्दैनथी ।

वास्तवमा उ यौनप्रति नै उत्साहि थिइन । जन्म दिनेले पनि कुन यौन स्वार्थ पूरा गर्याे र आज उ यो हालतमा छे । के होटलवालाले उसको मजबुरीमाथि खेल्ने प्रयास गरेन र ? के चाहान्छ यो समाज यौन पिपासु बन्न खोजेर । हो उ यिनै कुराहरुले साच्चै निरास थिई आफ्नो यौन जीवनमा पनि । घटना अब उनिहरुबीच मात्र सीमित थिएन । छोडपत्रका लागि सामुयलले मुद्दा हालेको थियो अदालतमा । र उनिहरु अदालतकै मेलमिलाप केन्द्रमा तीन महिनाको म्याद गुज्रिने झण्डै अन्तिम संघारको छलफलमा थिए अहिले ।

आयूषी नानी ! के सोचिरहनुभएको ? यो लगभग अन्तिम चरणको मेलमिलाप छलफल हो । यसपछि अदालती प्रक्रिया शुरु हुन्छ । अनि सामुयल भाइ ! तपाईले वहालाई छाड्नुपर्ने कुनै पर्याप्त कारण र सवुद छैन यहाँसंग । त्यसैले उल्टै यहाँलाई कार्वाही हुने कुरा पनि नविर्सनोस् । श्रीमान् का अघि कानुन मात्रै विजयी हुन्छ ब्यक्ति होईन ।

विगतको गहिरो सोचमा डुबेकी आयूषी चन्चलाको आवाजले झस्किन पुगी । चन्चला बोल्दै थिईन् – यहाँहरु तोकिएको समय अझै बाँकि भएकोले थप अर्काे एउटा छलफलका लागि माग गर्नुहुन्छ भने हामी त्यसै अनुरुप जानेछौ । समय अझै बाँकि छ सोचेर निर्णय लिनोस् । नत्र हामी पनि त्यति धेरै फूर्सदिला छैनौं ।

मेलमिलापकर्ताको आवाज संगै सामुयलको अनुहार धमिलियो । पछि उनिहरुकै सल्लाह बमोजिम आयूषी र सामुयलले अन्तिम पटकको मेलमिलापका लागि लिखित निवेदनमाथि दुबैले हस्ताक्षर गरेर बाहिरिए ।

आयूषी सामुयलसंग गएकी थिईन । बरु सिधै होटलमा गई, जहाँ डिकन बा अर्ध होसमा बर्बराएर रहने गर्थे । उसको साथमा आफ्नो भन्नू त्यहि डिकन बा र आमाले उसलाई भेट्दाका बखत खिचेको धमिलो भईसकेको फोटो फ्रेम थियो । उसले ठानी यस्ता मान्छे नामका जनावरहरुको साथमा रहनुभन्दा बरु त्यहि सहरको मानव सेवा आश्रममा रहनु बेस् । उसलाई त्यहा न त कसैसंग छोडपत्र गर्नु पर्थ्यो न त जोडिन नै । बरु कमसेकम डिकन बा लाई त उसले संगै राखेर सेवा गर्न पाउछे । मानव सेवा आश्रम अर्थात साहाराविहीन मानवहरुलाई आश्रय दिएर राखिने संस्था । यहि सोचेर उ डिकन बालाई लिएर मानव सेवा आश्रम पुगी ।

त्यहा आईपुग्दा आश्रमको अघिल्तिर चउरभरी आश्रममा रहेका मान्छेहरुको भीड थियो । बीचमा क्यामेरा लिएर भिडियो बनाउँदै गरेका एकजना मान्छे र एकजना माईक समातेर बोलिरहेका थिए । कुनै टिभि बाट आएका बारे जान्न उसलाई गाह्रो परेन । एउटी महिला आँखाबाट बग्रेल्ति आँसु खसाल्दै जो माईक समाउनेको अघिल्तर बसेर बोल्दै थिईन – श्रीमानका साथी रहेछन् उनी । वहाले पठाउनुभएको सामान बुझाउन भनेर मेरोमा आउँन लागेको थियो श्रीमानका साथी असल मान्छे नै होलान् । यहि सोचेर टाढाबाट आएको सुनेर त्यो रात उनलाई त्यहि बस्न आग्रह गरें । तर त्यहि रात उसले ममाथि जवर्जस्ती गर्याे । म एउटी नारीको कराउदा चिच्याउदा पनि जोर चलेन ।

मलाई बर्बाद बनायो । मैले आत्महत्याको प्रयास पनि गरें । तर काखकी छोरीको अनुहार हेरेर त्यसो पनि गर्न सकिन । यसपछि उसले मलाई पटक पटक श्रीमानलाई बताईदिने धम्कि दिएर जवर्जस्ती गरिरह्यो । एकदिन उसले मलाई नारायणी नदी किनारमा बोलायो । म छोरी लिएरै त्यहा गएँ । म उभिएभन्दा केही पर उ पनि मेरो प्रतिक्षामा रहेछ । मलाई देख्नासाथ उसले आफूतिर आउन संकेत गर्याेस । उसंग अरु तीनजना मान्छे र छेवैमा ट्याक्सी देखेर मैले छोरीलाई तिमी एकछिन यही बस म पापा किनेर ल्याउँछु भनेर त्यहाँ गएँ । म उसको नजिक पुग्नासाथ मलाई मुखमा रुमाल सुँघाउँदै जवर्जस्ती ट्याक्सीमा राखेको याद छ । त्यसपछि …. यति भन्दै ती महिला बच्चा जस्तै रुन थालिन् । उनले टिभि पत्रकारलाई आफ्जो ब्यागबाट आफ्नी ती छोरीको फोटो पनि देखाईन् ।

यो सुन्दै गरेकी आयूषीको पाईला अब ती बोल्दै गरेकी महिलातर्फ आनायासै बढिरहेको थियो । आयूषीले आफूसंग भएको फोटो निकालेर हेर्दै ती महिलाले देखाएको फोटो पनि नियालि । उसका हातगोडा सबै लूला बने । महिलाले देखाएकै दुरुस्त अर्काे फ्रेमसहितको फोटो आयूषीको हातबाट भुँईमा खस्यो । सबैका नजर फ्रेमको सिसा फुटेको आवाज आएतिर केन्द्रित भए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...