मनहरी-मनहरी गाउँपालिकाको-३ वटा वडाका सीमान्तकृत र अति विपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी फाउन्डेसनले बनाएको घर एक कार्यक्रमका बीच बिहीबार हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गरेका हुन् ।
तालाचावी दिएर घर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य बानियाँले फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा अति विपन्न चेपाङ समुदायका एकल महिलालाई घर बनाईदिएर अनुकरणीय कार्य गरेको भन्दै फाउन्डेशनकाे प्रशंसा गरे ।
नेता बानियाँले मजदुरी गरेर जीविका चलाउनुपर्ने गरिब, अतिविपन्न तथा एकल महिलाहरु पक्की घर भएपछि हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने बताउँदै अब विपन्न परिवारहरुलाई सीपमुलक तालिमका साथै रोजगारीको अवस्था सिर्जना गर्न प्रदेश सरकारसंग समन्वय गरेर गाउँपालिका लाग्नुपर्ने बताए ।
टुकी फाउन्डेसनले मनहरी गाउँपालिका ४ नयाँबस्ती, ६ को प्रतापपुर र नयाँवस्ती, मनहरी ८ सिम्पानीका एकल महिलाहरु सानुमाया प्रजा, सविता प्रजा, प्रविना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको हो ।
फाउण्डेसनले प्रत्येक एकल महिलाहरुलाई करिब ८ लाख बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसनकी अध्यक्ष सावित्री रजालीले बताइन् ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेसका महासमिति सदस्यहरु राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, ८ का वडा अध्यक्ष नारायण उप्रेती, वडा सदस्य मिरा खत्री, समाजसेवीहरु सिताराम बर्तौला, विदुर थापा, भीमसेन लामा, लक्ष्मण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

