Search
Close this search box.

एपिएफमाथि सहज जीत निकाल्दै मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधि

हेटौंडा– छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्रले सहज उपाधिमाथि कब्जा जमाएको हो । विजयी भएसँगै उसले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

बिहीबार बागमती गाउँपालिका– ८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा मच्छिन्द्रलाई जित दिलाउने क्रममा विदेशी खेलाडीले गोल गरेका थिए । विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । खेलको १४ औं मिनेटमै करिमको गोलमार्फत मच्छिन्द्रलले अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलले अघि रहेको मच्छिन्द्रले दोस्रो हाफमा ३ गोल थप्यो ।

५७ औं मिनेटमा चिजोवाले अग्रता दोब्बर पारे । ६२ औं मिनेटमा मच्छिन्द्रले एक गोल उपहार पायो । विदेशी खेलाडी स्टेफन समिरको प्रहार रोक्ने क्रममा एपिएफका डिफेण्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । त्यसको एक मिनेट नबित्दै चिजोवाले गोल गरे ।

एकपक्षीय जस्तै देखिएको फाइनल खेलमा एपीएफले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा उप(विजेतामै चित्त बुझाउन बाध्य भएको छ। विजेता मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भएको एपीएफले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई र एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर मच्छिन्द्रकै विशाल तामाङ, फरवार्ड मच्छिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपाने घोषित भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan