Search
Close this search box.

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ जना अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ। बिहीबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत उक्त लक्ष्य पूरा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। यस अन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको छ। हालसम्म गाउँपालिकाबाट ३११ जना योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन्।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्रका १ सय १९ वटै पालिकाका नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन प्रदेश सरकारले ५० प्रतिशत रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भीमफेदी गाउँपालिकालाई सामाजिक सुरक्षा कार्यान्वयनमा अग्रणी र उदाहरणीय पालिका भएको बताउनुभयो ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत आवद्ध श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सुविधा पाउनेछन्। कोषमा आवद्ध भएपछि उपचार खर्च उल्लेखनीय रूपमा घटेको श्रमिकहरूको अनुभव रहेको छ।

अनौपचारिक क्षेत्रका श्रमिकका लागि न्यूनतम पारिश्रमिकको ११ प्रतिशत योगदान स्वयं श्रमिकबाट र ९.३५ प्रतिशत गाउँपालिकाबाट थप गरी कुल २०.३५ प्रतिशत अर्थात मासिक २ हजार ४७९ रुपैयाँ कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ।

भीमफेदी गाउँपालिकाले २०८० साउन ३० गते सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै कार्यक्रम सुरु गरेको थियो। यससँगै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने नेपालकै पहिलो गाउँपालिका तथा बागमती प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा आफूलाई स्थापित गरेको छ।

गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan