Search
Close this search box.

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ ले शिक्षा र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी, खेलकुद तथा विविध शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ। “हाम्रो अभियान, शैक्षिक अभियान” भन्ने नारासहित शुक्रबार आयोजित पत्रकार भेटघाटमार्फत कार्यक्रमहरूको विस्तृत तालिका सार्वजनिक गरिएको हो।

वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा कार्यक्रमहरू सञ्चालन हुनेछन्। सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य, स्वस्थ प्रतिस्पर्धा र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको उनले बताए।

कार्यक्रमअनुसार बैशाख १८ र १९ गते हुप्राचौर मा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना हुनेछ, जसमा १६ टोली सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दुई सान्त्वना टोलीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यसैगरी, बैशाख २७ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय मा तेस्रो वडा खेलकुद महोत्सवअन्तर्गत पुरस्कार वितरण कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा नगरस्तरीय फुटबल, भलिबल, क्रिकेट र बास्केटबल तथा वडास्तरीय एथलेटिक्स, हाजिरजवाफ, हिज्जे, वादविवाद, निबन्ध, कविता र वक्तृत्वकलालगायत प्रतियोगिताका विजेतालाई सम्मान गरिनेछ। साथै कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकलाई नगदसहित सम्मान गरिने जनाइएको छ।विद्यार्थी उद्यमशीलता कार्यक्रम भने जेठ २ गतेदेखि भुटनदेवी माध्यमिक विद्यालय मा सुरु हुनेछ।

यसैगरी, जेठ १४ गते रोयल पार्टी प्यालेस मा नगरस्तरीय बृहत् शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ। प्रदर्शनीमा विज्ञान विषयका परियोजनाहरू प्रस्तुत गरिनेछन् भने “२० वर्षपछिको हेटौँडा” शीर्षकमा चित्रकला प्रतियोगिता र नेपाली मौलिक संस्कृति झल्कने नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ। विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रमहरूमा करिब १० हजार विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यस अभियानमार्फत शिक्षा क्षेत्रमा लगानी प्रवर्द्धन, गुणस्तर सुधार तथा समग्र शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan