Search
Close this search box.

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम


कैलाश । कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा भएको वडा स्तरीय स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान(२६ महिना) प्रथम भएको छ । नामटार स्वास्थ्य चौकी अन्तरगत भएको ६ महिना देखी ३६ महिना सम्मका बालबालिकाहरुको विभिन्न सूचकमा रहेर गरिएको प्रतिस्पर्धामा आशिका रुम्बा(३४ महिना) द्धितीय भएकी छिन् भने सन्ध्या बल (३३ महिना) तृतीय भएकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । प्रतियोगितामा ४६ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए ।
वडा ९ का वडाध्यक्ष एंव स्वास्थ्य चौकीका अध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले स्वस्थ बालबालिका थाहा पाउन प्रतिस्पर्धात्मक कार्यक्रमले थप टेवा पुग्ने बताए । सुनौला हजार दिनभित्र देखीनै आमा र बच्चाको स्वास्थ्य अवस्था नियमित जाँच गरिरहनुपर्ने बताउँदै सरकारले ल्याएको मापदण्ड र विभिन्न सूचकमा रहेर प्रतिस्पर्धा गरिएको उनले बताए ।
बच्चाको स्वास्थ्य सम्बन्धी ज्ञान आमा सँग रहने भएकाले बच्चाको स्वास्थ्यबारे थाहा पाइराख्नु र विरामी पश्चातको उपचार समेत आमाहरुले जानकारी भइराख्नुपर्ने अध्यक्ष मुक्तानले बताए । पोषण कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य अवस्थालाई सन्तुलन गरिनुका साथै गाउँपालिकाले आमा र बच्चालाई विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले स्वस्थ बच्चा थाहा पाउन नियमित स्वास्थ्य चौकीमा जाँच गरिरहनुपर्ने बताए । आफ्नो बच्चा किन पहिलो दोस्रो भएन भन्ने मनमा लागेको हुन सक्छ, मापदण्डमा तपाइहरु पर्न नकसकोले पनि हो । पूर्ण रुपमा मापदण्डभित्र पर्ने गरि आमाहरुले ध्यान दिनु जरुरी रहेको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, सिनियर अहेव सुधिर महत्तो, नामटार स्वास्थ्य चौकीका प्रमुख पंकज साह, स्वास्थ्यकर्मीहरुको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan