हेटौंडा- हेटौंडाको एक होटलमा युवक मृत भेटिएका छन् । हेटौंडा–१०, बसपार्कस्थित श्यामसुन्दर तिवारीले सञ्चालन गरेको चण्डिका होटलमा युवक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत भेटिएका युवक मकवानपुरको राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष २८ का सरोज शाह छन् ।
प्रहरीका अनुसार १२ः२० बजे बसपार्कस्थित उक्त होटलमा पुस १५ गतेदेखि शाह २०१ नम्बर कोठामा बस्दै आएका थिए । बिहीबार विहान अबेरसम्म पनि ढोका नखोलेको र बाहिर निस्किएको नदेखेपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा मृत्यु भएजस्तो देखिएको भनी प्रहरीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली खटिएर घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धानका क्रममा बिस्तारामा बसेको अबस्थामा मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

