हेटौँडा । मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह सफल बनाउन अक्षयकोष स्थापना समिति गठन गरिएको छ। समितिको संयोजकमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन्।
शनिबार आयोजित विद्यालयका पूर्वविद्यार्थीहरूको भेलाले पुडासैनीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सहसंयोजकमा तेजराज अधिकारी र सचिवमा उमेश अधिकारी चयन भएका छन्।
विद्यालयको ५०औँ स्वर्ण जयन्ती समारोह सफलतापूर्वक सम्पन्न गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले अक्षयकोष स्थापना समिति गठन गरिएको जनाइएको छ। विद्यालयको पूर्वविद्यार्थी समितिमा ५१ सदस्यीय तदर्थ समिति रहेको छ।
विद्यालयको स्वर्ण जयन्ती समारोह आगामी पुस ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। समारोहअन्तर्गत शिक्षक, विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी विभिन्न कार्यक्रम आयोजना गरिने संयोजक पुडासैनीले जानकारी दिए।

