हेटौँडा । सार्वजनिक निकायबाट सेवा लिँदा दोभाषेको अभावमा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन्। उनीहरूले अस्पताल, प्रहरी कार्यालयलगायत अत्यावश्यक तथा आकस्मिक सेवा प्रदान गर्ने निकायमा दोभाषेको व्यवस्था गर्न माग गरेका छन्।
शुक्रबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे आयोजित छलफलमा सहभागीहरूले सरकारी निकायका प्रतिनिधिसमक्ष आफ्ना समस्या राख्दै सेवा प्रवाहलाई अपाङ्गमैत्री बनाउन आग्रह गरेका हुन्।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकी प्रदेश व्यवस्थापक सीता मल्लले प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन जाँदा लामो र झन्झटिलो प्रक्रिया, सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन नहुनु, अपाङ्गता भएका बालबालिकालाई विद्यालयले भर्ना लिन आनाकानी गर्नु तथा सरकारी कार्यालयमा अपाङ्गमैत्री शौचालयको अभावजस्ता समस्या औँल्याउनुभयो।
संविधानको धारा ४२ ले अपाङ्गता भएका नागरिकलाई मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने तथा सार्वजनिक सेवा र सुविधामा समान पहुँचको हक सुनिश्चित गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मल्लले बताउनुभयो।
कार्यक्रमकी प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुराना संरचनामा अपाङ्गमैत्री सुविधाको अभाव रहे पनि नयाँ संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउन जोड दिइरहेको बताउनुभयो। उहाँले उपमहानगरपालिकाले दोभाषेको व्यवस्था गरेको जानकारीसमेत दिनुभयो।
मकवानपुर अपाङ्ग उत्थान समाजका अध्यक्ष ठाकुरराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो।

