Search
Close this search box.

कैलाशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

हेटाैँडा- मकवानपुरको कैलाश गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ब्याच वितरण तथा सामूहिक प्रतिबद्धतासहित हस्ताक्षर गरेर अभियानको उद्घाटन गरेका हुन् ।

नोभेम्बर २५ देखि सुरु भएको अभियानअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १६ दिनसम्म लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गरिने गाउँपालिकाले जनाएको छ ।

अभियानको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले महिला, बालबालिका तथा अन्य व्यक्तिमाथि हुने शारीरिक, मानसिक, सामाजिक, आर्थिक र यौनजन्य हिंसा अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए ।

‘हिंसा सहेर बस्ने होइन, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने ।

लैङ्गिक हिंसाविरुद्धको अभियान १६ दिनमा मात्र सीमित नभई वर्षभरि नै सचेतना, व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्व अभिवृद्धिको अभियान बन्नुपर्ने अध्यक्ष मुक्तानको भनाइ थियो । घर, परिवार, समाज तथा सार्वजनिक क्षेत्रमा लैङ्गिक समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले हिंसामुक्त समाज निर्माणका लागि महिला, पुरुष, युवा, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र सम्पूर्ण समुदाय एकजुट हुनुपर्ने बताए । हिंसा पीडितलाई न्याय, संरक्षण र सहयोग उपलब्ध गराउनुका साथै हिंसाजन्य प्रवृत्तिलाई निरुत्साहित गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले लैङ्गिक हिंसा अन्त्य गर्नु समाजको साझा दायित्व भएको बताइन् । महिला तथा बालबालिकामाथि हुने हिंसा, विभेद, दुर्व्यवहार र असमानता अन्त्यका लागि कानुनी सचेतनासँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

लैङ्गिक हिंसा घरभित्र, कार्यस्थल, सार्वजनिक स्थान तथा विभिन्न सामाजिक क्षेत्रमा हुन सक्ने भएकाले यसको रोकथामका लागि परिवार, समुदाय र राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने उनले बताइन् ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाका अनुसार ब्याच वितरण, सामूहिक प्रतिबद्धता र हस्ताक्षर गर्दै अभियान सुरु गरिएको हो । ‘म हिंसा गर्दिनँ, हिंसा सहन्नँ र यसको प्रतिकार गर्छु’ भन्ने मूल मर्मका साथ सन् २०२६ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan