हेटाैँडा- चैनपुर जेसीज मनहरीको आयोजनामा चौथो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’ आगामी असोज १७ गतेदेखि सुरु हुने भएको छख।
चितवनको सौराहामा सम्पन्न जेसीजको तेस्रो बोर्ड बैठकले प्रतियोगिताको मिति तय गर्दै तयारीलाई तीव्रता दिने निर्णय गरेको हो । प्रतियोगिता मनहरी गाउँपालिका–४ स्थित गोलघर खेल मैदानमा सञ्चालन हुनेछद।
प्रतियोगिताको मुख्य प्रायोजक मनहरी गाउँपालिका–४ नम्बर वडा कार्यालय रहेको छ।
विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने चैनपुर जेसीजका अध्यक्ष सुरेश गौतमले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता संयोजनको जिम्मेवारी कार्यकारिणी उपाध्यक्ष नवराज रिजाललाई दिइएको छ ।
मनहरी–४ का वडा अध्यक्ष प्रकाश थापाले जेसीजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै प्रतियोगितालाई भव्य र सभ्य बनाउन पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
मकवानपुरको पश्चिमी क्षेत्रमा सक्रिय चैनपुर जेसीजले स्थापनाकालदेखि नै यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको छख। प्रतियोगिताको पहिलो संस्करण बागमती प्रदेश प्रहरी कार्यालयले जितेको थियो भने दोस्रो र तेस्रो संस्करणको उपाधि मकवानपुरगढी जेसीजले हात पारेको थियो ।
