हेटौँडा । नागरिकता त्यागेका, मृत्यु भएका तथा दोहोरो नाम दर्ता भएका मकवानपुरका ३ हजार ४७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाले नागरिकता त्यागेका ६ जना, मृत्यु दर्ता भएका १ हजार ९६४ जना र दोहोरो नाम दर्ता भएका १ हजार ५०२ जनाको नाम मतदाता नामावलीबाट हटाएको हो ।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार वडा कार्यालयहरूबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा मृत्यु भएका मतदाताको नाम हटाइएको हो । त्यस्तै, निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो नाम दर्ता भएका मतदाताको नाम हटाइएको उनले जानकारी दिए ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त नागरिकता त्यागसम्बन्धी विवरणका आधारमा ६ जनाको नाम मतदाता नामावलीबाट हटाइएको ढकालले बताए ।
कार्यालयले हटाइएका मतदाताको नामावलीसमेत प्रकाशित गरेको छ । प्रकाशित नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्काल निर्वाचन कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।
निर्वाचन आयोगले आगामी असोज ३० गते अन्तिम मतदाता नामावली जारी गर्ने जनाएको छ ।
गत फागुनमा सम्पन्न संसदीय निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता रहेका थिए । जिल्लामा दुई निर्वाचन क्षेत्र र १० स्थानीय तह छन् ।

