Search
Close this search box.

हेटौँडामा पहिलोपटक डीडीसीको बिक्री केन्द्र

हेटौँडा । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलोपटक हेटौँडाको हुप्राचौरमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउनुका साथै स्वदेशी उत्पादनको खपत बढाउने उद्देश्यले बिक्री केन्द्र स्थापना गरिएको हो।
आइतबार हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले बिक्री केन्द्रको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नगर प्रमुख लामाले दूध उत्पादन हुने जिल्ला मकवानपुरमा डीडीसीको बिक्री केन्द्र सञ्चालनमा आउनु उपभोक्ता र किसान दुबैका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले दुग्धजन्य पदार्थको महत्व उल्लेख गर्दै बिक्री केन्द्रले स्थानीय किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डीडीसी हेटौँडा शाखाका कार्यालय प्रमुख राजीव खनालले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन बिक्री केन्द्र विस्तार गरिएको बताउनुभयो । उहाँले बिक्री केन्द्रको विस्तारले स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउनुका साथै किसानको उत्पादनका लागि बजार सुनिश्चित गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको बिक्री केन्द्रमा ३० प्रकारका दुग्धजन्य पदार्थ उपलब्ध हुने सञ्चालक फेन्चु रुम्बाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा दूध, दही, मही, पनिर, चिज, रसबरी र लालमोहनलगायतका परिकार बिक्रीका लागि राखिनेछन्। बिक्री केन्द्रमा मकवानपुरमै उत्पादित फलफूलसमेत उपलब्ध गराइने सञ्चालक रुम्बाले बताउनुभयो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan