हेटौँडा । विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा मकवानपुर महिला उत्थान समाजले हेटौँडाका २० जना अति विपन्न एचआईभी संक्रमितलाई खाद्यान्न वितरण गरेको छ।
आइतबार हेटौँडा–४ स्थित समाजको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको हो।
समाजकी अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख लामाले नगरपालिका एचआईभी संक्रमितहरूको साथमा सधैँ रहने बताउँदै एकअर्कालाई हौसला प्रदान गर्दै अघि बढ्न आग्रह गरिन्। उनले संक्रमित बालबालिकाको शिक्षाका लागि नगरपालिका सहयोग गर्न सधैँ तयार रहेको उल्लेख गर्दै हाल उपलब्ध गराउँदै आएको मासिक २ हजार रुपैयाँमा थप १ हजार रुपैयाँ वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै उनले सबैलाई चाडपर्वको शुभकामना दिइन्।
कार्यक्रममा एचआईभी संक्रमितहरूले नगर प्रमुख लामाको पहलमा प्राप्त सहयोगले आफ्नो जीवनयापनमा सहजता आएको बताएका थिए। यसअघि उपमहानगरपालिकाबाट बाख्रा वितरण भएपछि बाख्रापालनमार्फत जीविकोपार्जन गर्न सहज भएको उनीहरूको भनाइ थियो। कार्यक्रममा केही संक्रमितले कुखुरापालनका लागि समेत सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए।
समाजकी अध्यक्ष कमला सुवेदीका अनुसार हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र २ सय ८० जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये २७ जना संक्रमित बालबालिकाको पोषण तथा शिक्षाका लागि नगर प्रमुख लामाको पहलमा मासिक २ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आइएको छ।
कार्यक्रममा उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख भिमप्रसाद तिमल्सिना,समाजको कार्यक्रम संयोजक अर्जुन खड्कालगायत समाजका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

