Search
Close this search box.

हेटौँडामा ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम सम्पन्न


हेटौँडा । ढाका कपडाको उत्पादन, बजारीकरण तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार हेटौँडा–१०, बुद्धचोकमा आयोजित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
हेटौँडा ढाका उद्यमी समूहकी उपाध्यक्ष रञ्जु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले महिलालाई उद्यमशीलतासँग जोड्दै आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यस्ता कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिँदै आएको बताइन्। उनले आफू जनप्रतिनिधि रहँदा वा नरहँदा पनि महिलासँग जोडिएर उनीहरूको सशक्तीकरणका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।
हेटौँडा–१० का वडाध्यक्ष पूर्वा दोर्जे लामाले महिलालाई उद्यमशीलतासँग जोड्न वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। महिलालाई उद्यमी बनाउने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
नगर महिला उद्यमी सञ्जालकी संयोजक गीता मैनालीले स्वागत मन्तव्य राख्दै ढाका उद्योगको पृष्ठभूमि र कार्यक्रमको उद्देश्यबारे जानकारी गराइन्। उनका अनुसार हेटौँडा उपमहानगरपालिकामा एक सय भन्दा बढी ढाका उद्यमी रहेका छन्। हेटौँडामा ढाका उद्यमको सुरुवात र विस्तारका क्रममा आफूले गरेको प्रयास तथा प्रारम्भिक चरणमा भोग्नुपरेका चुनौतीबारे पनि उनले अनुभव सुनाइन्।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाभित्रका महिला ढाका उद्यमीहरूले उत्पादन गरेका सामग्रीका स्टल राखिएका थिए। स्टलमा ढाकाका साडी, झोला, पर्स, कोटलगायत विभिन्न कपडा तथा हस्तनिर्मित सामग्री प्रदर्शन र बिक्रीका लागि राखिएका थिए।
हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालले महिला उद्यमीलाई उद्यमसँग जोडिन प्रेरित गर्दै उनीहरूको क्षमता र नेतृत्व विकासका लागि आफू सधैँ सहयोगी भूमिकामा रहने बताइन्।
कार्यक्रमका अवसरमा उद्यमी तथा प्रशिक्षक सीतादेवी थापा मगर र मकवानपुरमा ढाकाको सुरुवातका लागि पहल गर्ने कमला दर्जीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उद्योग वाणिज्य तथा पर्यटन कार्यालयका प्रमुख रामप्रसाद भुसाल, हेटौँडा–१० की कार्यपालिका सदस्य साधना श्रेष्ठ, वडा सचिव रामप्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी सभापति सीता भेटवाल, हेटौँडा गार्मेन्टकी अध्यक्ष मेनका श्रेष्ठ, भुटनदेवी सामुदायिक वनका अध्यक्ष सोमबहादुर लामा, न्युरेनी टोल विकास संस्थाकी अध्यक्ष फूलमाया गुरुङ, श्रमजीवी महिला काष्ठ हस्तकला अध्यक्ष विष्णुकुमारी राई, पत्रकार प्रताप विष्ट, ढाका उद्यमी तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan