व्यक्तिगत लाभ लिएको आरोप निराधार, बैंकिङ कारोबार नियमित र पारदर्शी रहेको जिकिर
हेटाैँडा- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ र उनको परिवारसँग सम्बन्धित बैंकिङ कर्जा अपचलन तथा आर्थिक अनियमितताबारे सार्वजनिक भएका समाचारमा गलत र भ्रामक तथ्य प्रस्तुत गरिएको बानियाँसम्बद्ध स्रोतले दाबी गरेको छ ।
बानियाँ परिवारसँग सम्बन्धित विभिन्न कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नियमित अवस्थामा रहेको बैंकिङ क्षेत्रका एक जानकारले बताएका छन् । उनका अनुसार कुनै पनि कर्जा खराब कर्जामा परिणत भएको छैन । कर्जा असुलीका लागि बैंकले ताकेता गर्नुपर्ने वा धितो लिलाम गर्नुपर्ने अवस्था पनि नरहेको दाबी गरिएको छ ।
बैंकबाट कर्जा लिँदा जग्गाजमिन, शेयर तथा व्यक्तिगत जमानीलगायत आवश्यक सुरक्षण राखिएको र प्रचलित बैंकिङ प्रक्रिया पूरा गरेरै कर्जा प्रवाह भएको स्रोतको भनाइ छ । कम्पनीका सम्पूर्ण आर्थिक कारोबारसमेत बैंकिङ प्रणालीमार्फत नै हुने गरेको दाबी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भूगर्भ सिमेन्ट, बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्स गरी तीन कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जासम्बन्धी विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा बानियाँ निर्माण सेवाका सञ्चालक प्रहरी हिरासतमा छन् ।
बानियाँसम्बद्ध स्रोतका अनुसार कम्पनीको आर्थिक कारोबारका क्रममा सञ्चालकले पुँजी थप्ने, आवश्यकताअनुसार रकम उपलब्ध गराउने र कम्पनीको आर्थिक अवस्थाअनुसार उक्त रकम फिर्ता लिने प्रक्रिया सामान्य व्यावसायिक अभ्यास हो । व्यक्तिगत खातामा रकम देखिँदैमा त्यसलाई कर्जा अपचलन वा व्यक्तिगत लाभका रूपमा व्याख्या गर्न नमिल्ने बैंकिङ क्षेत्रका जानकारको जिकिर छ ।
‘यसरी व्याख्या गर्ने हो भने नेपालका अधिकांश ऋणीलाई यसरी नै मुद्दा लाग्छ,’ बैंकिङ क्षेत्रमा लामो समय काम गरेका एक जानकारले भने ।
भूगर्भ सिमेन्टसँग सम्बन्धित आर्थिक कारोबार पनि बैंकिङ प्रणालीमार्फत नै सम्पन्न भएको र हाल कुनै लेनदेन बाँकी नरहेको स्रोतको दाबी छ । त्यस्तै, बानियाँ निर्माण सेवा र बानियाँ सप्लायर्सबीचको कारोबार व्यावसायिक आवश्यकता तथा पारिवारिक सम्बन्धका आधारमा हुँदै आएको जनाइएको छ ।
सीआईबीले बैंकिङ कसुर तथा कर्जा अपचलनसम्बन्धी विषयमा अनुसन्धान गरिरहेका बेला सार्वजनिक भएका आरोपको मूल्यांकन अनुमान वा अपुष्ट विवरणका आधारमा नभई बैंकको कर्जा विवरण, वित्तीय अभिलेख र कारोबारका आधिकारिक प्रमाणका आधारमा हुनुपर्ने स्रोतको भनाइ छ ।
‘कसैको चरित्र हत्या गर्न अनुमान र आशंकाकै भरमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बढाइचढाइ लेख्नु जायज होइन,’ बानियाँ निर्माण सेवासहितका कम्पनीलाई नजिकबाट बुझेका एक जानकारले भने ।
उनले व्यावसायिक संस्थाले लिने ऋण तथा गर्ने लगानी राज्यको नियमभित्रै रहेर हुने गरेको र बानियाँ निर्माण सेवा (बीएनएस) तथा सम्बन्धित कम्पनीले पनि त्यही दायरामा रहेर काम गरेको आफूले देखेको बताए ।
कम्पनीका सञ्चालकसँग पारिवारिक नाता भएका व्यक्तिको इमान, इज्जत र ख्यातिलाई कमजोर बनाउने उद्देश्यले यस्तो विषय उछालिएको हुन सक्ने आशंका व्यक्त गर्दै उनले राज्य संयन्त्रसमेत त्यस्तो खेलमा संलग्न हुनु दुर्भाग्यपूर्ण भएको बताए । यसले व्यावसायिक वातावरणमा नकारात्मक असर पार्न सक्ने उनको भनाइ छ ।
२५ अर्ब रुपैयाँभन्दा बढीका राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको कम्पनी र त्यसका सञ्चालकलाई व्यक्तिगत रिसइबीका आधारमा अनावश्यक दुःख दिँदा देशको विकास निर्माणमा समेत असर पर्न सक्ने विकासविद्हरूको भनाइ छ ।
राजनीतिक वा व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भएर यस्ता विषय उठाइएमा सरकार तथा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनीहरूको धारणा छ । अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदै कसैलाई कर्जा अपचलनमा संलग्न रहेको ठहर गर्नु न्यायोचित नहुने उनीहरूको भनाइ छ । वास्तविक वित्तीय कारोबार, बैंकका अभिलेख र आधिकारिक प्रमाणबाट मात्रै सम्पूर्ण विषय स्पष्ट हुने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।
अनुसन्धानकै क्रममा रहेको विषयमा गरिने ‘मिडिया ट्रायल’ले कसैलाई फाइदा नपुग्ने भन्दै अनुसन्धान प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउन, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र आधिकारिक निष्कर्ष नआएसम्म संयमित रहन सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरिएको छ ।
।

