Search
Close this search box.

हेटौंडा सिमेन्ट चार महिनादेखि बन्द,उपकरण मर्मत सक्याए पनि किन चलेन उद्योग

हेटौंडा– सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ४ महिनादेखि ठप्प रहेको छ । किलमा समस्या आएपछि मर्मतको लागि गत असोज ७ गतेबाट बन्द भएको सिमेन्ट उद्योगको मर्मतको काम सकिए पनि पुनः सञ्चालनमा आउन सकेको छैन ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगको उपकरण मर्मतको काम सकिए पनि विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेका कारण उत्पादन सुरु गर्न नसकिएको बताए । ‘अहिले प्राधिकरणले बिहान ३ घण्टा र बेलुका ३ घण्टा लाइन काट्ने गरेको छ । उद्योग सञ्चालनको लागि त हामीलाई नियमित लाइन चाहिन्छ । हामीसँग बैकल्पिक व्यवस्थाको लागि जेनेरेटर पनि छैन । त्यसैले उद्योग सञ्चालन गर्नेबारे हामी अन्यौलमा छौँ ।’ पाण्डेले भने । उद्योगलाई नियमित विद्युत् उपलब्ध गराउनेबारे आफूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेरै अनुरोध गरेको बताउँदै पाण्डेले केही दिनमा बिजुलीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उद्योग चालू आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा २६ दिन मात्रै चलेको छ । गत साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन मात्रै उद्योगले उत्पादन गरेको थियो । महाप्रबन्धक पाण्डेले उपकरण मर्मत सकिएको र नियमित विद्युत् उपलब्ध भए उद्योग चलाइने बताए । करिब १० दिन निरन्तर चल्न पुग्ने करिब ११ सय टन कोइला उद्योगमा स्टक रहेको उनको भनाइ छ । जसबाट एक लाख बोरा सिमेन्ट उत्पादन हुनेछ । हाल उद्योगसँग मौज्दात सिमेन्ट नरहेको पाण्डेले बताए  ।

पुराना उपकरणका कारण बारम्बार बिग्रने कारणले उद्योगले बिगतका वर्षहरुदेखि नै नियमित सिमेन्ट उत्पादन गर्न सकिरहेको थिएन । उद्योग निरन्तर घाटामा रहेको छ । उद्योगमा कोइला आयात, कर्मचारी खर्च, विद्युत् खर्चलगायत दायित्व दैनिक बढिरहेको छ । महाप्रबन्धक पाण्डेका अनुसार उद्योगले तत्काल तिर्नुपर्ने सबै दायित्व करिब ७० करोड रुपैयाँभन्दा बढी रहेको बताए । उद्योग विगत ६ वर्षदेखि निरन्तर घाटामा रहेको छ । उद्योग घाटामा जानुको एक मात्र कारण उत्पादन लागत बढ्नु नै रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।

उद्योगमा रहेका ४० वर्ष पुराना मेसिनका कारण उत्पादन क्षमतामा ह्रास आउनु, बिजुली खपत पनि उत्तिकै मात्रामा हुनुले उत्पादन लागत बढी भएको उद्योग प्रशासनको तर्क छ । ‘निजी सिमेन्ट उद्योगले अत्याधुनिक मेसिन प्रयोग गरी निकै कम मूल्यमा उत्पादन गर्छन् र उनीहरु सस्तोमा बेच्छन्, हामीहरुको पुरानो मेसिन, पुरानै नीति नियम र शैलीमा चल्नु परिरहँदा उत्पादन लागत धेरै माथि छ ।’ महाप्रबन्धक पाण्डेले भने ।
सिमेन्ट उद्योग स्तरवृद्धि नगरेसम्म निरन्तर सञ्चालनको ग्यारेन्टी नहुने उद्योग प्रशासनको ठहर छ ।

उद्योगमा रहेका जीर्ण उपकरणहरूलाई विस्थापन गर्दै नयाँ उपकरण जोड्ने तथा अन्य नीतिगत सुधार गरेर उद्योगलाई निरन्तर नाफामा लैजान सकिने उद्योग व्यवस्थापनको भनाइ छ । सरकारले केही समयअघि निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो । निरन्तर घाटामा रहेको हेटौँडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठुलो रकम आवश्यक पर्ने औँल्याएपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, हालसम्म उद्योगको बारेमा कुनै निर्णय हुन सकेको छैन  ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गत असोजमा सिमेन्ट उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने तर, निजी क्षेत्रलाई भाडामा दिनुपर्ने आशय व्यक्त गरेका थिए । त्यतिबेला उद्योग मन्त्री भण्डारीले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको बताएका थिए ।

२०४२ साल मंसिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको हेटौंडा–९ स्थित लामसुरेधापमा रहेको हेटौंडा सिमेन्ट १२० बिगाहा क्षेत्रमा फैलिएको छ । प्लान्ट र आवासीयबाहेक कयौं रोपनी जग्गा खाली नै रहेको छ । उद्योगको कच्चापदार्थका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी सञ्चालनमा छ । खानी क्षेत्रमा समेत गरी उद्योगको स्वामित्वमा ३ सय ३८ बिगाहा जग्गा रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan