विद्याकी देवी सरस्वती माताको पूजा आज देशभर मनाइएको छ । सरस्वती मातालाई स्तुति गरेर मनाइने यो पर्वले विद्या र बुद्धि बढ्ने जनविश्वास रहिआएको पाइन्छ । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने समेत विश्वास गरिन्छ ।
सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ यसै दिनलाई मानिन्छ। कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन । यसै क्रममा देशभर सरस्वती पूजा भइरहँदा मकवानपुर जिल्लामा पनि उल्लासमय तरिकासाथ सरस्वती पूजा सम्पन्न भएको छ ।
मकवानपुरको हेटौंडा १६ स्थित जनप्रिय माविमा आज एकैदिन अक्षरारम्भ गराउन आउनेको संख्या ५५ जना रहेको छ । त्यसो त यो संख्या बढेर ९० देखि १०० सम्म पुग्ने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए । अघिल्लो शैक्षिक वर्षमा पनि अक्षरारम्भको दिन विविध कारणले विद्यालय आइपुग्न नसकेको र पछि त्यो संख्या दोब्बर भएको उनको तर्क छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना बालबालिका संस्थागत विद्यालयमा लग्नेगरेको आरोप आइरहँदा जनप्रिय माविमा कार्यरत अधिकांश शिक्षकले भने आफू कार्यरत विद्यालयमा नै आफ्ना बालबालिका पठनपाठन गर्नेगरेका छन् । प्रधानाध्यापक चौलागाईले पनि अक्षरारम्भकै अवशर पारी आफ्नो छोरा भविष्य चौलागाइलाई जनप्रिय माविमा भर्ना गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक समेत रहेका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाले जनप्रियले यो राम्रो सन्देश दिएको बताए । कोइरालाले सिद्धान्त र व्यवहारिक पक्ष फरक पाटो हो भन्दै उपमहानगरभरी सबैले यसको अनुसरण गर्नुपर्ने बताए ।
यता मकवानपुरकै हेटौंडा ४ मा रहेको श्रमिक माविमा अक्षरारम्भकै दिन पारेर ३७ जना विद्यार्थीले अक्षरारम्भ गरेका छन् । विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालका छोरा श्रृजित दाहाल पनि संस्थागत नभई सामुदायिक विद्यालयमा नै अध्ययन गर्ने गर्दछन् । श्रमिक माविमा पनि आजको दिन अक्षरारम्भ गर्न आउनेहरुको यो संख्या दोब्बर बढ्ने प्रधानाध्यापक दाहालको भनाइ छ । केही वर्ष अघि करिव २ सय जना विद्यार्थी अध्ययन गर्दै गरेको यो विद्यालयमा अहिले ६ सय ४४ को संख्यामा विद्यार्थी पुगेका छन् । विद्यालय एकिकरण भएर अर्कोमा गाभिने स्थितिमा पुगेपछि दहालले यो विद्यालयको नेतृत्व गरेका हुन् । यता हेटौंडा उपमहानगरमा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अभिभावको चासो बढ्दै गएको छ । हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलले भने हामी हेटौंडालाई मध्य नेपालकै शैक्षिक हवको रुपमा विकास गर्ने तयारीमा छौं । उनले भने यसका लागि हामी हेटौंडा ४ मा रहेका दुई ठूला भनिएका विद्यालय भुटनदेवी मावि र आधुनिक माविलाई एकीकरण गरेर मेघा विद्यालयको प्रक्रियामा छौं ।
सामुदायिक विद्यालयप्रति फैलिएको गुणस्तरप्रतिको अफवाह र जनविश्वास पछिल्लो समयको सकरात्मक प्रयासहरु हेर्ने हो भने त्यो गलत सावित नहोला भन्न सकिन्न । शिक्षा ऐनको विरोधाभाषपूर्ण कार्यपद्धति र संविधानको अनुसूची ८ र ९ लाई यथोचित परिमार्जन एवम् शिक्षक अभिभावकहरुका यस्तै सहकार्यमूलक प्रयास गर्ने हो भने नेपालका सामुदायिक विद्यालय पक्कै आकर्षणको केन्द्रबिन्दु बन्ने छन् ।