हेटौंडा-पछिल्लो समय मकवानपुरमा लागुऔषध प्रयोगकताको संख्या बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता पुरुष बढी हुन्थे । तर, पछिल्लो समय महिला पनि लागुऔषधको दलदलमा पुरुषसरह नै फसिरहेका देखिन्छन् ।
मकवानपुरमा पछिल्लो समय महिला पनि लागुऔषधमा फसेर नियन्त्रणबाहिर गएपछि लागुऔषधको विकराल अवस्थालाई मध्यनजर गर्दै हेटौंडा–९, लामसुरेहाइटमा लागुऔषध तथा मादकपदार्थ महिला पुनर्स्थापनागृह सञ्चालनमा ल्याइएको छ ।
२०८० पुस १६ गते सञ्चालनमा आएको पुनर्स्थापनागृहमा हाल १४ जना उपचाररत् तथा परामर्श लिरहेका छन् । ४ जना पुनर्स्थापित भइसकेको सिआन महिला पुनर्स्थापनागृह सञ्चालक तान्या अग्रवालले जानकारी दिइन् । स्थानीय सरकारसंगको बैठकमा सिआन महिला पुनर्स्थापनागृह सञ्चालक अग्रवालले यस्तो बताइन् । सिआन महिला पुनर्स्थापनागृहमा लागुऔषध, मादकपदार्थ, मानसिक समस्याको आवासीय उपचार तथा परामर्श सेवा दिइने गृहमा ४ महिलाहरुले रोजगारी पाएको उनले जानकारी दिइन् । सिआन महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत् सुइद्वारा सेवन गरिने लागुऔषध महिला प्रयोगकर्तालाई हुनसक्ने क्षति न्यूनीकरणका काम गर्दै आएको सञ्चालक अग्रवालले जानकारी दिइन् ।
सिआन महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत् सुइद्वारा सेवन गरिने लागुऔषध महिला प्रयोगकर्तालाई हुनसक्ने क्षति न्यूनीकरण अभियानसमेत सञ्चालन गरिएको अग्रवालले बताइन् । लागुऔषध प्रयोगकर्ताको संख्याका आधारमा पुरुष भन्दा महिलाको संख्या डरलाग्दो अवस्थामा बढिरहेको उनले । उपचाररत् महिलालाई उपचारसंगै विभिन्न प्रकारका तालिमसमेत दिने गरिएको उनले बताइन् ।
मकवानपुरमा लागुऔषध प्रयोगकर्ताका सुधारगृह थुप्रै छन् । तर, महिला सुधारगृह नहुदा अन्यत्र लैजानुपर्ने अवस्था थियो । मकवानपुरमा महिला लागुऔषध प्रयोगकर्ताको अवस्थालाई मध्यनजर गर्दै केही समयअघि पहिलो पटक महिला सुधारगृह सञ्चालनमा ल्याइएको हो । पुरुषमा लागुऔषध समस्या देखिएकाले पुरुष पुनर्स्थापना कार्य गरिरहेको अवस्थामा हाल महिला लागुऔषध प्रयोगकर्ताको समस्या विकराल देखिएका अग्रवालले जानकारी दिइन् ।
‘मकवानपुरमा यस विषयमा महिलाविज्ञ कम रहेको र चुनौती रहेको अवस्थामा युवतीहरुको सकारात्मक जीवनका लागि अवसर सिर्जना गर्ने उद्धेश्य राखेका छौं,’ अग्रवालले भन्नुभयो –हेरचाहका लागि महिलालाई महिला नै आवश्यक पर्ने भएकाले २ महिला परामर्शदाता, १ महिला चिकित्सकको व्यवस्था गरेका छौं ।
सरकारी मापदण्डअनुरुप गृह व्यवस्थापन र सञ्चालन प्रमुख प्राथमिकतामा रहेको र त्यसअनुरुप व्यवस्थापन र विभिन्न निकायसंगै समन्वय गरिरहेका उनले बताइन् । विशेषतः मनोपरामर्श, हेरचाह, योग, ध्यान, आध्यत्मिक जागरण, खेलकुद, परिवारको महत्व र सामाजिकीकरणयुक्त बनाउन दैनिक कक्षाहरुको व्यवस्था गरिएको उनले बताइन् । निकट भविष्यमा यसलाई थप व्यवस्थित गर्दै उपचारको पहुँच र चेतना वृद्धिसहित अघि बढ्ने योजना रहेको उनले बताइन् । मकवानपुरआसपास चितवनमा १ र काठमाडौंमा महिला सुधारगृह रहेको हुँदा मकवानपुरमा महिलालाई व्यवस्थित वातावरण दिने लक्ष्य रहेको उनको भनाइ छ। ।
गृह मन्त्रालयको २०७६ सालको सर्वेक्षणअनुसार बागमती प्रदेशमा महिला प्रयोगकर्ताको संख्या ५ हजार ६ सय २५ जना रहेकोमध्ये सबभन्दा बढी काठमाडौं र मकवानपुरमा रहेको तथ्यांक ‘सुरक्षित जीवन’ नामक गृह मन्त्रालयको वार्षिक पुस्तिकामा रहेको उनको भनाइ छ। ।
स्थानीय तहसंगको बैठकमा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख गगा चौलागाईं, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ चौलागाईं, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, सिआन पुनर्स्थापनागृह अध्यक्ष विजेन्द्र अग्रवाल, सिआन पुरुष पुनर्स्थापनागृह सञ्चालक सौजन डीसी, गैसस अध्यक्ष तथा सिआन पुनर्स्थापना सल्लाहकार रमिला सापकोटा र कमल पौडेल, टोलविकास संस्थाकी शोभा अर्याल, सामुदायिक प्रहरी सेवा–९ नम्बरका महेश्वरमान श्रेष्ठलगायतको उपस्थिति थियो ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । प्रतिवेदनअनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिकरुपमा वृद्धि हुँदै गएको देखिन्छ ।