हेटौंडा।अन्धविश्वासअनुसार पञ्चैबाजा नबजाइ ल्याइएकी दुलहीले पधेरामा महिलाहरुको व्यङ्ग्य सहनुपर्छ । मन नमिलेको खण्डमा उनीहरु छेड हान्न चुक्दैनन्–जे भए पनि आफू त त्यसै आएकी होइन, झ्याइझ्याइ पञ्चैबाजा घन्काएर भित्र्याएकी बुहारी हु । कसैले हेला गर्न पाउछन् यहाँ ?’ पञ्चैबाजाको महत्ताबारे प्रकाश दर्नालको पुस्तक ‘ हाम्रो सांस्कृतिक धरोहरहरु’ मा उल्लेख गरिएका पंक्ति हुन् यी ।
परापूर्वकालदेखि पञ्चैबाजा नेपाली (खासगरि पहाडी) समाजसंग जोडिदै आएको पाइन्छ । मंगलवाद्यका रुपमा विवाह, व्रतवन्ध, उत्सव, रोपाइँ , पूजा–पञ्चबलि आदिमा पञ्चैबाजा बजाइदै आएको छ । प्रदीप रिमालको पुस्तक ॅकर्णाली लोकसंस्कृति’ मा उल्लिखित जनश्रुति भन्छ–पहिले गाउँघरमा उत्सवका बेला बाजा बजाउने मान्छे कोही थिएन । एक दिन एक जना गाउँको घरमा उत्सव मनाइने भयो । उत्सवमा बाजा बजाउने इच्छा गरेर उनले एउटा दमाहा बनाउन लगाए । दमाहामाथि दुई गजा (बजाउने लठ्ठी) राखे र घरमा आएका पाहुनालाई भने–जसले पहिलोपटक दमाहालाई गजाले हान्ला उसैले बाजा बजाउने काम गर्ला ।
मीमबहादुर परियार (२८) खुट हान्नु सन्देशवाहक कटुवाल प्रथाजस्तै भएको र यसमा दुःख र सुखका सन्देश पठाउन बेग्लाबेग्लै ताल वा आवाज निकालिने बताउँछन् । यस परम्परा बिस्तारै हट्दै गएको उनको भनाइ छ ।
पञ्चैबाजामा पाँच बाजा पर्छन्– सहनाइ, ढोलकी, झ्याली, दमाहा र ट्याम्को । रामशरण दर्नालको पुस्तक ‘नेपाली बाजा’ अनुसार पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक पनि हो । दर्नालका अनुसार मंगल र शुभको प्रतीक पञ्चैबाजा वैदिककाल अगाडिदेखि नै बज्दै आएका हुन् । नेपालका मन्दिरमा नगरा र घण्टसंगै पञ्जैबाजा/नौमती बाजा बज्दै आएकाले यी बाजालाई देवबाजा पनि भनिन्छ ।
क्यारोलको पुस्तक ‘हर्टबिट अफ नेपालः दी पञ्चैबाजा (१९९०)’ मा भने पञ्चैबाजा भारतबाट राजपुत शरणार्थीसंग १४ औं शताब्दीतिर नेपाल आएको हुनसक्ने उल्लेख छ । दर्नालका अनुसार नौमती बाजाको पुर्ख्यौली नाम पञ्चैबाजा हो । पञ्चैबाजाका एकसरो बाजाबाट ऊर्जावान् धुन निस्कदै। एकभन्दा बढी बाजा एकैचोटि बज्दा बढी शक्तिशाली सुनिने भएकाले पञ्चैबाजामा एउटा सहनाइ, दमाहा, नरसिंगा र कर्णाल थपेर नौमती बाजा संयोजन गरिएको हो । नौं वटा बाजा रहेकाले यसलाई नौमती बाजा भन्नु सही नभएको दर्नालको भनाइ छ । नौमती बाजा समूहमा ३६ वटा बाजासम्म रहन्छ भने आवश्यकअनुसार यसलाई बढाउन सकिन्छ ।
पञ्चैबाजा वा नौमती बाजामा बज्ने प्रसिद्ध परम्परागत् धुनहरु मंगल धुन, रामकली, चाँचरी , मालश्री, दिवस राग, बेहुली अन्माउने राग आदि हुन् भने लोकधुनमा ख्याली, झ्याउरे, चुड्का र सेलोलगायत पर्छन् । पाका–पुराना सहनाइवचाचरसंग रामकली र चाचरी धुन भने लोप हुन पुगे । दर्नालका अनुसार ख्याली, झ्याउरे, चुड्का र सेलो धुनमात्र नभइ ताल र नाचका नाम पनि हुन् ।
यसै सन्दर्भमा मकवानपुरगढी पर्यटन विकास समन्वय समितिद्वारा रामनवमी पर्वको अवसरमा लोपोन्मुख सनातन मौलिक वाद्यबादनको संरक्षण सम्वद्र्धन तथा धार्मिक अनुष्ठान कार्यक्रम गरिएको छ । आइतबार हेटौंडा–५, हुप्रचौरबाट लोपोन्मुख खंैजडी भजन, चुट्का नित्य, पवित्र शंखबादन, नेवारी घिमे बाजा तथा पञ्चैबाजा समूहले आफ्नो प्रस्तुति नृत्यसहित पारिजातपथ, अजरअमर रोड, सीमाचोक, बुद्धचोक, पिपलबोट चोक हुँदै बुद्धचोकबाट कान्तिराजपथ सडक भएर मकवानपुरगढी दरबारमा समापन गरिएको थियो । बाजागाजाको प्रभातफेरीमा विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो ।
जिल्ला समन्वय समिति सभापति ललित घलान र संस्कृति तथा तथा पर्यटन मन्त्रालयका यज्ञराम अधिकारी, दीपक मिश्रसमेतको उपस्थितिमा मकवानपुरगढी दरबारपरिसरमा वंशगोपाल भगवान्को पूजाराधना गरी मन्दिरपरिसरमा भजन वाद्यबादन समूहबाट मौलिक खैंजडी भजन, घिमे बाजा र शंखबादन प्रस्तुति गरिएको थियो । रामनवमी सांस्कृतिक पर्वको अवसरमा ऐतिहासिक मकवानपुरगढी दरबारको अवलोकन भ्रमण नवलपरासीबाट आएका भक्तजनहरुले समेत उत्साह र उमंगसाथ भजन र नृत्यमा सहभागिता जनाइ नेपाली संस्कृतिको समभाव र ऐक्यबद्धतासाथ खैंजडी भजन र नृत्यमा रमाएका थिए । वाद्यवादनको प्रस्तुतिपछि सहभागी हर्नामाडी भजन समूह, नेवा सांस्कृतिक पुचःको टोलीलाई संस्कृति तथा पर्यटन मन्त्रालयका मिश्र, अधिकारी तथा मकवानपुरगढी पर्यटन विकास समन्वय समितिबाट संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरिएको थियो ।