राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार कारागार चलान हुँदैछन्।
रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी सोमबार कारागार चलान हुने भएका हुन्। शुक्रबार राति काठमाडौँमा पक्राउ परेर शनिबार बिहान भैरहवा पुर्याइएको थियो।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि अति सक्रियता देखाएको प्रहरीले शुक्रबार राति नै उनलाई बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको हो।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका लामिछानेलाई शनिबार बिहान जहाजमार्फत् भैरहवा पुर्याइएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार र आइतबार बिदा भएकाले उनलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो। उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेसँगै लामिछाने सोमबार जिल्ला कारागार भैरहवा चलान हुँदैछन्।