हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा २ हजार ७७८ वटा उजुरी परेका छन्। आयोगको हेटौँडा कार्यालयले हेर्ने आठ जिल्लामध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको छ।
आयोगको हेटौँडा कार्यालयका प्रमुख पवनकुमार तिमिल्सेनाले सोमबार बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार कार्यालयमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीसमेत गरी २ हजार ७७८ उजुरी दर्ता भएका थिए।
दर्ता भएका उजुरीमध्ये १ हजार ७६७ वटा अर्थात् ६४.७७ प्रतिशत फर्स्यौट गरिएको प्रतिवेदनमा उल्लेख छ। कुल उजुरीमध्ये ४७.३० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन्।
स्थानीय तहअन्तर्गत सबैभन्दा धेरै उजुरी पर्साको छिपहरमाई गाउँपालिकाविरुद्ध परेको छ। उक्त गाउँपालिकासँग सम्बन्धित २४५ वटा उजुरी आयोगको हेटौँडा कार्यालयमा दर्ता भएका छन्।
त्यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिकासँग सम्बन्धित १६९ वटा र वीरगन्ज महानगरपालिकासँग सम्बन्धित १५२ वटा उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।
हेटौँडा उपमहानगरपालिका–१ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ, सिन्धुपाल्चोक र दोलखा तथा मधेश प्रदेशका बारा, पर्सा र रौतहट गरी आठ जिल्लाको कार्यक्षेत्र हेर्दै आएको छ।

