Search
Close this search box.

हेटौँडामा विधि विज्ञान प्रयोगशाला सञ्चालन, काठमाडौंको कार्यभार घट्ने

हेटौँडा । अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमुखी र प्रभावकारी बनाउने उद्देश्यले हेटौँडामा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा परिसरमा स्थापना गरिएको प्रयोगशालाबाट बागमती प्रदेश तथा आसपासका जिल्लामा अपराध अनुसन्धानका क्रममा संकलन हुने विभिन्न नमुनाको परीक्षण स्थानीयस्तरमै गर्न थालिएको हो। प्रयोगशालामा सानाठूला विभिन्न मेसिन तथा उपकरण जडान गर्न करिब १२ करोड रुपैयाँ खर्च भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसअघि यस्ता नमुना परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो।

सोमबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीले हेटौँडामा प्रयोगशाला सञ्चालनमा आएपछि केन्द्रीय प्रयोगशालाको कार्यभार उल्लेख्य रूपमा घट्ने बताउनुभयो।

विशेषगरी लागूऔषध परीक्षणतर्फ काठमाडौंस्थित केन्द्रीय प्रयोगशालाको करिब ४० प्रतिशतसम्म कार्यभार हेटौँडा प्रयोगशालाले घटाउन सक्ने अवस्था बनेको उहाँले जानकारी दिनुभयो।

हेटौँडा प्रयोगशालाबाट चितवन, मकवानपुर, सिन्धुली, रामेछापलगायत जिल्लाबाट बरामद हुने लागूऔषधका नमुना परीक्षण गरिनेछ। चितवनको पूर्वी कुरिनटार क्षेत्रदेखि मकवानपुर, सिन्धुली हुँदै रामेछापसम्मका प्रहरी कार्यालयबाट बरामद हुने लागूऔषध परीक्षणका लागि हेटौँडा पठाउन थालिएको डीआईजी रेग्मीले बताउनुभयो।

मधेस प्रदेशका पूर्वी क्षेत्रबाहेक केही जिल्लाबाट समेत लागूऔषध परीक्षणका लागि नमुना हेटौँडा आउन थालेको उहाँले जानकारी दिनुभयो।

हेटौँडा प्रयोगशालाले लागूऔषध परीक्षणका लागि तीन दश कार्यविधि लागू गरेको छ। यो कानुनी बाध्यता नभई सेवा प्रवाहलाई व्यवस्थित र छिटो बनाउन नेपाल प्रहरीले तयार गरेको आन्तरिक कार्यविधि हो।

यसअनुसार लागूऔषध बरामद गर्ने सम्बन्धित प्रहरी कार्यालयले नमुना तीन दिनभित्र प्रयोगशालामा पठाउनुपर्नेछ। प्रयोगशालाले नमुना प्राप्त भएको १० दिनभित्र परीक्षण प्रतिवेदन उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसले थोरै परिमाणमा लागूऔषध बरामद भएका सामान्य प्रकृतिका घटनामा परीक्षण प्रतिवेदनका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

ठूलो परिमाणमा लागूऔषध बरामद भएको वा संगठित कारोबारसँग सम्बन्धित जटिल प्रकृतिका घटनामा भने कानुनअनुसार अनुसन्धानका लागि म्याद थप गर्न सकिने भएकाले प्रयोगशालाको परीक्षण समयले मात्रै अनुसन्धान प्रभावित नहुने डीआईजी रेग्मीले स्पष्ट पार्नुभयो।

हेटौँडा विधि विज्ञान प्रयोगशालामा लागूऔषधसँगै बायोलोजी तथा सेरोलोजीसम्बन्धी परीक्षण पनि सुरु गरिएको छ। प्रयोगशालाका लागि आवश्यक केही मेसिन तथा उपकरण नेपाल प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको छ। थप पूर्वाधार तथा उपकरण व्यवस्थापनका लागि ९० लाख रुपैयाँभन्दा बढी बजेटसमेत उपलब्ध भएको प्रदेश प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो।

यसैगरी पोखरामा यसअघि टेन्डर भएका केही सामग्रीसमेत हेटौँडा ल्याएर प्रयोगशालाको पूर्वाधार विकासमा प्रयोग गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan